• ९ जेठ २०८१, बुधबार

पहिरोले सिँवा–तापेथाक सडक अवरुद्ध

blog

सदरमुकाम फुङ्लिङ–तापेथोक सडकको सिँवा–तावा खण्डमा खसेको पहिरो । तस्बिर :चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ११ गते । 
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक जाने सडक पहिरोले अवरुद्ध बनाएको छ । बुधबार राति वर्षासँगै लिङ्खिमको सिँवा–तावा खण्डमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।

फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमस्थित तावाखोला नजिक माथिबाट झरेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनाएको स्थानीय पदम बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार पहिरोले सडक अवरुद्ध बनाएपछि बिहीबार बिहानैदेखि सो सडक हुँदै सञ्चालन हुने यातायात ठप्प भएको छ ।

उहाँले सिँवा–तावा सडकखण्ड अवरुद्ध बनेपछि वैकल्पिक मार्गको रूपमा लिङ्खिम उकालो हुँदै थिवा जोड्ने सडकको प्रयोग गर्न सुरु गरिएको जानकारी दिनुभयो । लिङ्खिम–थिवा वैकल्पिक सडक भने निकै अप्ठ्यारो रहेकोले यातायात सञ्चालनमा कठिनाइ रहेको स्थानीयले बताएका छन् । यस्तै, वैकल्पिक सडक घुमाउरो भएको पनि स्थानीयको भनाइ छ ।

यता अवरुद्ध सडक खुलाउनलाई केही दिन पर्खनुपर्ने अवस्था रहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अहिले पनि पहिरो निरन्तर बगिरहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको अध्यक्ष लिम्बूको भनाइ छ । पहिरो रोकिने बित्तिकै गाउँपालिकाको एक्स्काभेटर लगायतका स्रोत साधन प्रयोग गरेर अवरुद्ध सडक खुलाउने पनि उहाँले बताउनुभयो ।