• ८ जेठ २०८१, मङ्गलबार

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँमा विदेशी पाहुना

blog

इन्द्रजात्रा अवलोकन गर्न आउनुभएका अतिथिहरुलाई स्वागत गर्नुहुँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोल । तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौं, असोज ११ गते । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँमा विभिन्न देशका जनप्रतिनिधि आउनुभएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आउनुभएका अतिथिहरूलाई स्वागत गर्नुभएको छ ।

महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन वटा देशका पाँच वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्नुहुँदै २० जना अतिथि काठमाडौँ आउनुभएको हो । यस्तै आन्तरिक भगिनी सम्बन्ध भएका सहरहरूबाट प्रमुखसहित प्रतिनिधिहरू आउनुभएको छ ।

मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

सम्पदा मार्गको अवलोकन

आज (बिहीबार) बिहान वसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भयो । उहाँहरूले आज नै सुरु हुने कुमारी रथयात्राको अवलोकन गर्नुहुनेछ ।


भोलि भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यसपछि आर्ट ग्यालरीको अवलोकन हुनेछ । भोलि नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरूलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरूलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरू स्वदेश फर्कनुहुनेछ ।  

जात्रा कार्यक्रमअन्तर्गत आजबाट रथ यात्रा सुरु हुनेछ । आज दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै वसन्तपुर) मा रथ यात्रा हुनेछ । रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरूले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवङ्गत व्यक्तिका परिवारहरू रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ । 

भोलि (शुक्रबार) माथिल्लो टोल (वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर) मा रथ यात्रा हुनेछ । रथयात्राका समयमा पञ्चबद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।

असोज १५ गते नानीचाका दिन (वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरूले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरूले तान्न थालेका हुन् । यसै दिन श्रीहरूको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ः३७ बजे इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस वर्षका लागि इन्द्रजात्राका कार्यक्रम सकिनेछन् ।

यसरी तीन दिन हुने रथयात्राका क्रममा पर्ने रुटहरूमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकाश भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजाआजा गर्ने गर्छन् ।