• ३० असोज २०८२, बिहिबार

श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया भारत भ्रमणमा

blog

श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया ।

नयाँदिल्ली, असोज ३० गते । श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया पदभार ग्रहण गरेपछि पहिलो भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली आइपुग्नुभएको छ । भ्रमणले दुई देशबिचको नियमित र घनिष्ठको परम्परालाई निरन्तरता दिँदै मित्रता बलियो बनाएको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।

भ्रमणको क्रममा उहाँले आपसी हितका द्विपक्षीय सवालमा छलफल गर्न भारतीय राजनीतिक दलका नेतालाई समेत भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । भ्रमणको क्रममामा उहाँले दिल्लीमा एनडिटिभी र चिन्तन रिसर्च फाउन्डेसनले संयुक्तपमा आयोजना गरेको कार्यक्रम एनडिटिभी वर्ल्ड समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसबाहेक, श्रीलङ्काका शिक्षामन्त्रीसमेत रहेका अमरसुरियाले शिक्षा र प्रबविधिको क्षेत्रमा सहकार्यका अवसर पत्ता लगाउन इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) दिल्ली र नीति आयोग भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । दिल्ली विश्वविद्यालयको हिन्दू कलेजकी पूर्व छात्रासमेत रहनुभएकी श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले अल्मा मेटरको भ्रमण गर्ने र दुई देशबिचको व्यावसायिक सम्बन्धलाई सुदृढ पार्न एक व्यापारिक कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको जनाइएको छ ।

यो भ्रमणले दृढ र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउँदै भारत र श्रीलङ्काबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको जनाइएको छ । अक्टोबर–२ मा अमरसुरियाले भारतीय उच्चायुक्त सन्तोष झासँग कोलम्बोमा प्रधानमन्त्री कार्यालयमा रहेको महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जलि अर्पण गर्नुभएको थियो ।  

समााजिक सञ्जाल एक्समा तस्बिर राख्दै कोलम्बो-श्रीलङ्का भारतीय उच्च आयोगले “माननीय प्रधानमन्त्री अमरसुरिया र उच्चायुक्त सन्तोष झाले सँगै प्रधानमन्त्रीको निवासमा रहेको महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जलि अर्पण गरेको जनाएको छ ।  यस वर्ष महात्मा गान्धीको १५६ औँ जन्मजयन्ती मनाउँदै गर्दा भारतको स्वतन्त्रतामा उहाँको महत्वपूर्ण भूमिकाका लागि राष्ट्रपिताको रूपमा स्मरण गरिएको छ । 

सन् १८६९ अक्टोबर-२ मा गुजरातको पोरबन्दरमा जन्मेका महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) अहिंसात्मक आन्दोलनका अग्रदूत हुनुहन्थ्यो । अहिंसा र सत्याग्रहको दर्शनका माध्यमबाट उहाँले ब्रिटिस औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रता सङ्घर्षमा भाग लिन लाखौँ भारतीयलाई परिचालन गर्नुभएको थियो । भारतले स्वतन्त्रता प्राप्त गरेको केही महिनापछि सन् १९४८ जनवरी-३० मा नाथुराम गोडसेले नयाँदिल्लीको गान्धी स्मृतिमा महात्मा गान्धीको हत्या गरेका थिए । रासस/एएनआई