लक्ष्मी चौधरी
जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले अधिकारको संरक्षण गर्दै समृद्धि र विकासतर्फ प्रदेशलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।
बिहीबार पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री सोनारले छ दलीय गठबन्धनमा सहभागी सबै दल र नेताप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको बताउँदै हालको विषम परिस्थितिमा जनताको मुद्दा जनस्तरसम्म पुगोस् भन्ने उद्देश्यका साथ सरकार सञ्चालन गर्ने बताउनुभयो ।
“मुख्यमन्त्रीको पदमा सेवा गर्न आएको हुँ, इन्जोइ गर्न आएको होइन,” सोनारले भन्नुभयो, “अधिकारको कुरा संरक्षण र संस्थागत गर्दै सुशासन कायम गर्ने तथा समृद्धि र विकासको दिशामा अघि बढ्ने मेरो प्राथमिकता हुने छ ।”
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सहिदको सपना साकार पार्ने प्रतिबद्धता जनाउनुभयो । सोनारले मधेश प्रदेशलाई विकास र समृद्धिको बाटोमा डोर्याउने चुनौती स्वीकार गरेर सरकार अघि बढ्ने बताउनुभयो ।