• २९ असोज २०८२, बुधबार

दसैँ सकिए पनि ‘सखिया नाच’ को रमझम जारी

blog

सखिया नाचमा व्यस्त थारु युवती र युवाहरु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज २९ गते ।
दसैँ सकिए पनि थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम भने अझै सकिएको छैन । दसैँभन्दा अघि सुरु भएको सो नाच दसैँ सकिएपछि पनि बाँके र बर्दियाका थारु गाउँबस्तीमा अझै जारी छ ।

सखिया नाचिने थारू गाउँमा दसैँ सकिए पनि सो नाच अझै जारी नै रहेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र थारु जानकारी दिनुभयो । उहाँले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने बताउनुभयो । उहाँले सखिया नाचको रमझम तिहारसम्म यस्तै रहने बताउनुभयो ।

यस्तै, बाँके नौबस्ताका शंकर चौधरीले दसैँ सकिए पनि सखिया नाचको रमझमले गाउँबस्तीका युवालाई अझै नछोडेको बताउनुभयो ।

सोही प्रकारले बाँके राप्तीसोनारीका युवा जनक थारुले डिजे र मोबाइलमा झुम्मिने नयाँ पुस्ता पनि यस पटक सखिया नाचतर्फ आकर्षित भएको देख्दा निकै खुशी लागेको बताउनुभयो ।

बर्दिया राजापुरका भिमसेन चौधरीले अहिलेको डिजिटल युगमा पनि आफ्नो परम्परागत संस्कृतितर्फ युवा पुस्ताको आकर्षण लोभ लाग्दो रहेको बताउनुभयो ।

सखिया नाचमा युवाहरुको आकर्षण विगतभन्दा यस पटक बढी देखिएको उहाँको भनाइ छ ।

दसैँको अवसरमा केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बडघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् ।

थारु समुदायका अगुवाहरुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार÷पाँचजना मादल बजाउने युवा हुन्छन् । १५/२० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् ।

सखिया नाचमा विशेषत युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गरेका हुन्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा रहेको छ ।