ललिता साह
वोदेवर्साइन (सप्तरी), असोज ११ गते । लापरबाहीले जिल्लामा बढेको सड्क दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षासम्बन्धी राष्ट्रिय अभियान अन्तर्गत बिहीबार सप्तरीमा सरोकारवालासँग सचेतना कार्यक्रम भएको छ । निर्माणाधीन रहेका लोकमार्गसँगै सप्तरीमा दुईसय बढी सडकको निर्माण लथालिङ्ग र दुर्गतिमय भएपछि ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सडक सुरक्षा अभियान सुरु गरेको छ ।
पछिल्ला पाँच वर्षयता सडक दुर्घटनामा बढोत्तरी भएको छ । यसले गर्ने क्षति, अकाल मृत्युबाट जीवन जोगाउन स्वयम् सचेत हुनुपर्छ । उद्देश्य राखेर ब्रह्मकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभागको समन्वय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राजविराजको आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न गरिएको राजविराज केन्द्रकी प्रमुख ब्रह्मकुमारी भगवतीले जानकारी दिनुभयो ।
अन्तरक्रियामा सडक सुधार तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रमको सवाल प्रदेश सभामा उठाउने मधेश प्रदेश सभा सदस्य सत्तिशकुमार सिंहले बताउनुभयो । ‘५९ किलोमिटर लोकमार्ग पर्ने सप्तरीको भूमिमा कुनै यस्तो दिन छैन, सडक दुर्घटनामा मान्छे नमरेको । त्यसमध्ये ९० प्रतिशत १५–३९ वर्ष उमेर समूहका युवा छन्’ उहाँले भन्नुभयो । यसर्थ, सडक सुरक्षा कार्यक्रम युवा तथा विद्यालयस्तरमा लग्न उहाँले सुझाव दिनुभयो ।
नेपाल यातायात ट्रेड युनियन अध्यक्ष रामचन्द्र यादवले सडकको दुर्गतिपूर्ण अवस्था र सवारी चालकको बेवास्ताले जीवन सकुशल घर फर्किेनेमा चिन्ता लाग्नेगरेको बताउनुभयो । यात्रामा रहँदा मनमा डर र त्रास हुनेगरेको उहाँको भनाइ छ ।
राजविराजका ट्राफिक प्रमुख टेकबहादुर बस्नेतले जीवन अमूल्य रहेकाले सवारी चलाउँदा ट्राफिक प्रहरीलाई देखेपछि मात्रै सचेत नभई हरेक क्षणको सचेतनाले स्वयमको जीवन रक्षा गर्ने बताउनुभयो ।
‘राजविराज नगरपालिकामा ७ जना ट्राफिक छौँ, तर गाडी भने दिनको तीन लाख बढी गाडी कुद्छन्, सबैलाई प्रहरीसँग भेट हुनु र सचेत गराउनु असम्भवजस्तै हो’ उहाँले भन्नुभयो । बाटो काट्ने नियम थाहा नभएको, युवावर्गलाई विनाकुनै सचेतना मोटरसाइकल चलाउन दिनाले सडक दुर्घटना बढेको ह्मकुमारी रिनाले बताउनुभयो ।
यातायात प्रभागका प्रमुख गुणराज भाइजीका अनुसार मानवीय लापरबाही, सडकको अवस्था, गाडीको अवस्था, रातिको समयजस्ता चार प्रमुख कारणले सड्क दुर्घटना निम्तिनेगरेको छ । सडकको अवस्था सुधार नभए आउने १० वर्षमा नेपालमा ४० हजार नागरिक सडक दुर्घटनामा ज्यान गुमाउन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।