• १४ मंसिर २०८१, शुक्रबार

पातले छाँगो निजी कम्पनीलाई

blog

सन्तोष सुवेदी

कास्की, असोज ११ गते ।  पोखरा महानगरपालिकाले पातले छाँगो निजी कम्पनीलाई दिने निर्णय गरेको छ। महानगरपालिकाले सेती क्यानोनिङ नामक निजी कम्पनीलाई ४० वर्षका लागि दिने निर्णय गरेको हो। यो निर्णय भने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वको पालामा भएको थियो। निवर्तमान मेयर जिसीको ४७ औँ कार्यपालिका बैठकमा पातले छाँगोलगायत केही घाट ३५ देखि ४० वर्षसम्मका लागि भाडामा दिने निर्णय भएको थियो।

महानगर प्रमुखमा धनराज आचार्य आएपछि वैशाख ३ गते बसेको १७ औँ कार्यपालिका बैठकले सेती क्यानोनिङलाई पातले छाँगो सुम्पिने पुरानै निर्णय सदर गरेको हो। उक्त निर्णय हालै सार्वजनिक गरिएको छ। पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले अघिल्लो नेतृत्वको निर्णयलाई अहिले सदर गरेको बताउनुभयो। उक्त निर्णय अनुसार महानगरले पातले छाँगो भाडामा दिन सेती क्यानोनिङ नामक कम्पनीसँग २०७८ साल साउन १४ गते सम्झौता गरेको थियो।

सम्झौतामा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनिङका अध्यक्ष कर्केन गुरुङले हस्ताक्षर गर्नुभएको थियो। कार्यकालको अन्तिममा बिनाप्रतिस्पर्धा र वातावरणीय प्रभावबिनै लामो समयसम्म दिन लागेको भन्दै सरोकारवाला निकाय तथा जनस्तरबाट तीव्र विरोध भएपछि सम्झौता भएर पनि योजना अगाडि बढ्न पाएको थिएन। अहिले सोही निर्णय सदर गरी सार्वजनिक गरिएको छ। 

पातले छाँगोबाट प्रवेश शुल्क उठाइरहेको छोरेपाटन माविले सुरुमा विरोध गरेपछि स्कुलसँग पनि महानगरले वार्षिक आम्दानीबराबरकै बजेट व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ। महानगरले वार्षिक दुई करोड रुपियाँ दिने सम्झौता गरेको छ।