• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना सन्देश

blog

काठमाडौँ, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले शताब्दियौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ, “यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथ यात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।” 

उहाँले मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका मनाइने कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा हुने विभिन्न जात्रा र जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी एवं भगवान् विष्णुको पूजाअर्चनाले मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । 

धार्मिक जात्रा र पर्व भूगोल, क्षेत्र र समुदाय अनुसार मनाउने चलन, परम्परा, विधि–विधान फरक भए पनि सबैको सारतत्व समाज र देशमा धार्मिक सहिष्णुता, भाइचारा र सद्भाव कायम गर्नु नै रहेको उल्लेख गर्दै उहाँले हाम्रो मौलिक चिनारी र अद्भूत परिचय बनेका यी चाडपर्वलाई जीवन्त बनाई भावीपुस्तामा हस्तान्तरण गर्दै अगाडि बढ्नु जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ ।