• २५ वैशाख २०८१, मङ्गलबार

पौडीमा डुआना र नासिर हिटबाटै बाहिरिए

blog

डुआना लामा प्रतिस्पर्धा गर्दै ।

हाङझाउ, असोज १० गते । चीनमा जारी १९औँ एसियाड अन्तर्गत पौडीमा डुआना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिनुभएको छ । बुधबार महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा हिट ‘एक’बाट प्रतिस्पर्धा गर्नुभएकी डुआना आफ्नो हिटमा सातौँ हुनुभयो । 

उहाँले निर्धारित दूरी एक मिनेट २०.१५ सेकेन्डमा पार गर्नुभयो । उक्त हिटमा पहिलो आयोजक राष्ट्र चीनकी खेलाडी चाङ याङले निर्धारित दूरी एक मिनेट ०७.६६ सेकेन्डमा पार गर्नुभयो । दोस्रो भएकी दक्षिण कोरियाली खेलाडी हेजिन किमले निर्धारित दूरी एक मिनेट ०८.८२ सेकेन्डमा पूरा गर्नुभयो । 

डुआना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा पनि हिट चरणबाटै बाहिरिनुभएको थियो । यस्तै नासिर पुरुष दुई सय मिटर फ्रिस्टाइल स्पर्धाको हिट चरणबाट बाहिरिनुभएको हो । हिट ‘दुई’बाट प्रतिस्पर्धा गर्नुभएका नासिरले दुई मिनेट ००.१४ सेकेन्डमा दूरी पार गर्नुभएको थियो । 

आठ जना खेलाडी सहभागी यस स्पर्धाको हिटमा उहाँ सातौँ हुनुभयो । यस हिटमा उज्बेकिस्तानका खेलाडी ईगोर पेत्राकोभ ५२.०० सेकेन्डमा दूरी पार गर्दै पहिलो हुनुभयो । तुर्कमेनिस्तानका मुसा जालाएभ ५६.७८ सेकेन्ड समयका साथ दोस्रो हुनुभयो ।