• १६ भदौ २०८१, आइतबार

बस्तीमा आतङ्क मच्चाउने पाटे बाघ मृत फेलापर्‍याे

blog

बाँकेको राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहको वनमा मृत अवस्थामा फेला परेको पाटे बाघ । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, असोज १० गते । बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि आतङ्क मच्चाउँदै आएको पाटे बाघ एक्कासि मृत अवस्थामा फेला परेको छ ।

विगत एक हप्तादेखि राप्तीसोनारी –२ मदुईका स्थानीय बासिन्दाका घरपालुवा पशुमाथि दैनिक जसो आक्रमण गरी मारेर खाइदिने तथा घाइते बनाएर छोड्ने गरेको पाटे बाघ मङ्गलबार राती एक्कासि मृत अवस्थामा फेला परेको समसेर गन्ज सब डिभिजन वन कार्यालय प्रमुख सहायक वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।

सहायक वन अधिकृत सुवेदीका अनुसार राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको सामुदायिक वन क्षेत्रको घाट गद्दी स्थानमा बेवारिसे अवस्थामा मङ्गलबार राति अन्दाजी साढे ८ बजेको समयमा भाले वयस्क बाघ मृत अवस्थामा फेला परेको हो ।

जङ्गलमा पानीको खाडलनजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउ चोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोको जस्तो देखिने मुखमा तथा अगाडितर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृत अवस्थामा उक्त बाघ फेला परेको सुवेदीले जानकारी दिनुभयो । मृत बाघलाई थप अनुसन्धानका लागि राति नै डिभिजन वन कार्यालय बाँके पठाइएको उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बाँकेका अनुसन्धान अधिकृत रमेश बुढाथोकीले मृत अवस्थामा फेला परेको पाटे बाघ डिभिजन वन कार्यालयमा ल्याइएको बताउनुभयो । “समसेरगन्ज सब डिभिजन वन कार्यालयबाट पठाइएको मृत पाटे बाघका बारेमा अनुसन्धान सुरु गरेका छौँ, कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषयमा परीक्षण रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।” अनुसन्धान अधिकृत बुढाथोकीले भन्नुभयो, “बाघको शव परीक्षणका लागि पशु चिकित्सकलाई अनुरोध गरेका छौँ, उहाँहरूको रिपोर्ट अनुसार थप कारबाही अगाडि बढाउँछौ ।”

बाघको मात्र नभएर बाघले मारेका अन्य पशुको पनि शव परीक्षण गरिने बुढाथोकीले बताउनुभयो । उहाँले बाघले मारेका अन्य पशुको शव परीक्षणका लागि आवश्यक पर्ने मृत पशुका अङ्ग लिनका लागि वन कार्यालयको टोलीलाई राप्तीसोनारी २ मदुई पठाइएको छ । मृत बाघको शरीरको लम्बाइ ९ दशमलव ६६ फिट रहेको र अन्दाजी १६-१७ वर्ष उमेरको भाले वयस्क बाघ रहेको बुढाथोकीले जानकारी दिनुभयो । 

उक्त बाघले केही दिनदेखि राप्तीसोनारी २ मदुईका स्थानीयका घरपालुवा चौपायालाई आक्रमण गरी मार्ने तथा घाइते बनाउने गरेको थियो । हिजो दिउँसो मात्रै जङ्गलमा चराउन लगेको बेलामा स्थानीयका दुई वटा बाख्रा मारिदिएको थियो भने बेलुका गाउँ पसेर चार वटा गाईलाई मारेको थियो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।