छविलाल पाण्डे
बुटवल, असोज ८ गते । बुटवलमा सोमबारदेखि कोसेली घर सञ्चालनमा आएको छ । उद्योग वाणिज्य सङ्घको हलमा महिला उद्यमीले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा बिक्री वितरण गर्नेगरी कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
संघमा सोमबार आयोजना गरिएको कोसेली घर तथा मोटिभेसन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका वाणिज्य उपाध्यक्षसमेत रहनुभएका कार्यवाहक अध्यक्ष वैद्यले कोसेली घर स्थापनाले यस क्षेत्रको महिला उद्यमशीलतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अझै पनि मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नहुने बताउनुभयो । उहाँले उद्योग व्यवसायमा सङ्कटकालको स्थिति रहेको बताउँदै साना ठूला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
‘करको दायरा मात्रै होइन दर पनि बृद्धि भएको छ, बैंक व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ’ उहाँले भन्नुभयाे, ‘सरकार हाम्रा कुरा सुन्दैन, सडकमा आउनुको विकल्प छैन ।’
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाको कारण उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भइसकेको र कतिपय पलायन हुने स्थितिमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, महासङ्घकी सदस्य तथा महिला समितिका सभापति कमला श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल, सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
कोशेली घर सञ्चालनको लागि स्थान तथा त्यसको व्यवस्थापन बुटवल उद्योग वाणिज्य सङ्घले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिनुभएको छ ।