नेपालले पहिलो पटक एसिया कप क्रिकेटमा सहभागिता जनाएर प्रशंसा र सहानुभूति पाएको छ । अत्यन्त कम लगानी र अनिश्चित भविष्यमा बाँचिरहेको नेपाली क्रिकेटले विश्व क्रिकेटका हस्ती भारत र पाकिस्तानविरुद्ध जुन खालको प्रदर्शन गर्यो त्यसमा सहानुभूतिपूर्ण प्रशंसा व्यक्त गरिएको छ, विश्व क्रिकेटका पण्डितहरूबाट ।
नेपालले समूह चरणमै विश्वका अब्बल टिमहरू भारत र पाकिस्तानविरुद्ध खेल्ने मौका पायो । नेपालले उमेर समूहको प्रतिस्पर्धामा यी टिमविरुद्ध खेलेर सफलता हासिल गरेको भए पनि एकदिवसीय क्रिकेटमा पहिलो पटक खेल्ने अवसर पायो । पाकिस्तानविरुद्ध बलिङ र भारतविरुद्ध ब्याटिङमा नेपालले देखाएको खेल साहसिक र जुझारु त थियो नै क्षमताको समेत प्रश्न गर्ने धेरै ठाउँ थिएन । नेपालसँग मात्र कमी थियो त यस स्तरको प्रतियोगितामा खेलेको अनुभवको । एउटै खेलको लाखौँ रुपियाँ पारिश्रमिक पाउने खेलाडी तथा समग्रमा करोडौँ लगानी भएका टिमविरुद्ध न्यून लगानी, अनुभवको कमी, सुनिश्चित भविष्य नभएका नेपाली खेलाडीले जे जत्तिको खेला देखाएको त्यसको मुक्तकण्ठले प्रशंसा गरिएको छ । समग्रमा नेपालको प्रदर्शनले खेल प्रदर्शनमा सुन्दर भविष्यको झलकसमेत देखाएको छ ।
नेपालले पाकिस्तानविरुद्ध भदौ १३ गते पाकिस्तानमा र भदौ १८ गते भारतविरुद्ध श्रीलङ्कामा खेल्यो । नेपालले पाकिस्तानविरुद्ध खेल्दा २३८ रनको हार बेहोरेको थियो । भारतले १० विकेटले नेपाललाई पराजित गर्यो ।
पाकिस्तानविरुद्ध उसकै भूमिमा ब्याटिङमा जम्न नसकेको नेपालले भारतविरुद्ध ब्याटिङमा आक्रामक भएर खेल्यो । बलिङमा पाकिस्तानलाई आधा समय निकै दबाबमा राख्न नेपाल सफल भएको थियो ।
समग्रमा भन्नु पर्दा भारतविरुद्धको खेल नेपालको असली खेल ठहरियो । नेपाल–भारतको खेल हेर्नका लागि संसद् बैठक छिट्टै सकाइएको थियो । केही पालिकामा विद्यालय नै बन्द गरियो ।
भारतविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालीको मात्र मन जितेन विश्वकै ध्यान खिच्यो । पाकिस्तानविरुद्ध खेल्दा मात्र १०४ रनमै समेटिएको नेपालले भारतविरुद्ध दबाबमा रहेर खेलेन । आरम्भदेखि नै आक्रामक खेलेको नेपालले अनुमानविपरीत श्रीलङ्काको पल्लेकेले मैदानमा ४८.२ ओभर क्रिजमा रहेर २३० रन बनाएको थियो ।
नेपालका लागि सबै खेलाडीले खुलेर खेले । कोही दबाबमा आएनन् । नतिजा पहिले नै स्पष्ट जस्तै थियो । त्यसैले पनि नेपाली खेलाडीलाई हार्ने डर थिएन । नेपाली खेलाडीले राज्यबाट थप साथ र सहयोग पाउने हो भने भविष्यमा अझै सशक्त प्रदर्शन गर्न सक्ने छन् ।
सो खेलमा नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । शेख र ओपनर कुशल भुर्तेलबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी भएको थियो । कुशलले २५ बलमा ३८ रन बनाएका थिए । त्यसपछि सोमपाल कामीको ब्याटबाट ४८ रन बन्यो ।
खेल वर्षाले बारम्बार प्रभावित भएको थियो र भारतको पालिमा बढी नै प्रभाव परेपछि भारतले डक वर्थ लेविस नियमानुसार २३ ओभरमा १४५ रन बनाउनुपर्ने संशोधित लक्ष्य प्राप्त गर्यो । जुन लक्ष्य उसले २०.१ ओभरमै बिनाविकेट गुमाइ प्राप्त गर्यो ।
भारतविरुद्ध कुशल मल्लले कसिलो बलिङ गरे । उनले तीन ओभरमा मात्र ११ रन खर्चेका थिए ।
नेपाल–पाकिस्तान खेल
एसिया कप क्रिकेटमा नेपाललाई पहिलो खेलमा बलिङले साथ दिए पनि ब्याटिङ फितलो भयो । नेपाल पाकिस्तानद्वारा २३८ रनको अन्तरमा पराजित भयो । पाकिस्तानको मुल्तानमा भएको खेलमा ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभर मात्र खेलेर १०४ रनमा सीमित भएको थियो । सोमपाल कामीले सर्वाधिक २८ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलाडीको ब्याटिङ कमजोर रह्यो ।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै छ विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । पाकिस्तानले २७.५ ओभर खेलेर १२४ रनमा पुग्दासम्म चार विकेट गुमाइसकेको थियो तर कप्तान बाबर आजम र इफ्तिखार अहमदले पाँचौँ विकेटका लागि २१४ रनको साझेदारी गरेपछि नेपालका लागि परिस्थिति फेरियो ।
आजमले १३१ बलको सामना गर्दै १५१ रन बनाएका थिए । त्यस्तै अहमदले ७१ बलमा अविजित रहँदै १०९ रन बनाए । सोमपाललाई दुई तथा करण र सन्दीप लामिछानेलाई एक/एक विकेट प्राप्त भएको थियो ।
एसिया कप क्रिकेटमा नेपालले यसपालि पनि खेल्न पाउने वा नपाउनेमा द्विबिधा थियो । सन् २००२ को एसिसी ट्रफीको फाइनलमा पुगेसँगै नेपालले पनि अवसर पाएको थियो तर त्यतिबेलाको दुर्भाग्य नै भन्नु पर्छ त्यो प्रतियोगिता नै भएन, भारत र पाकिस्तानबीचको कार्गिलको युद्धका कारण । यसपालि गत वैशाखमा काठमाडौँमा भएको एसिसी ट्रफी क्रिकेटको उपाधि जितेर नेपालले एसिया कपमा स्थान बनायो ।
यसपालि पनि प्रतियोगिता हुने सम्भावना देखिँदैनथ्यो । प्रतियोगिता पाकिस्तानमा हुनु र भारतले पाकिस्तान गएर नखेल्ने बताएँसगै एसिया कप आयोजना हुनेमा शङ्का थियो तर विश्वकपको आयोजना गर्दै गरेको भारतले एसिया कम गुमाउन भने चाहँदैनथ्यो ।
समाधानको बिन्दु निस्कियो । चार खेल पाकिस्तानमा खेल्ने र बाँकी आठ खेल श्रीलङ्कामा खेल्ने सहमति भएसँगै एसिया कप सम्भव भयो । जसमा नेपालले आफ्नो दरिलो उपस्थिति देखायो । नेपाली टिमप्रति सहानुभूति त थियो नै भारतलाई कडा जवाफ दिँदै थप अभ्यास पाए सशक्त भएर उभिने सम्भावनासमेत देखायो ।
अबको निरन्तरको अभ्यासले नेपाली क्रिकेट उँभो लाग्ने निश्चित छ तर सरकारले गर्ने व्यवस्थापन र निजी क्षेत्रले गर्ने लगानी महत्वपूर्ण हुन सक्छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको नेपाल र विश्वकप उपाधि विजेता दुई टिमसँग तुलना हुनै नसक्ने भए पनि नेपालले देखाएको प्रदर्शनप्रति भारतीय र पाकिस्तानी खेलाडीसमेत तीनछक्क परेका छन् ।