पित्तथैली र पित्तवाहिनी नलीमा सिर्जना हुने कोलेस्टेरोल र क्याल्सियमको क्रिस्टल स्वरूप नै पित्तथैलीको पत्थरी हो । पित्तथैलीको पत्थरी आकारमा फरक हुन सक्छ । बालुवाको कणदेखि गल्फको बल जत्रो आकारमा पत्थरी बन्न सक्ने देखिएको छ ।
कलेजोले शरीरमा प्रवेश पाएको र उत्पन्न विष राम्ररी विघटन गर्न नसकेको सङ्केतका रूपमा पित्तथैलीको पत्थरीलाई बुझ्न सकिन्छ । यसैले यस समस्यालाई पत्थरीको तहमा मात्र सीमित राखेर हेर्नु उचित हुँदैन । कलेजोको कार्यकुशलतामा असर परेर शरीरमा दुष्प्रभाव पर्ने खतरालाई पनि साथसाथै हेर्नु पर्छ ।
कलेजोमा उत्पादन हुने पित्तको भण्डार गृह पित्तथैली हो । शरीरमा खाना र फ्याटी एसिड वा बोसो पचाउन पित्त आवश्यक पर्छ । अतिरिक्त पित्तको भण्डारण भएमा अन्डा, घिउलगायतका चिल्लो पदार्थ पचाउन शरीरलाई सजिलो हुन्छ तर जब कलेजो र पित्तथैलीमा विषको दबाब अनि सजिलै पित्त प्रवाह हुन सक्दैन । जसले गर्दा पित्तका अवयव असन्तुलित भई पित्तथैलीको पत्थरी सिर्जना हुन थाल्छ ।
विशेष गरी कोलेस्टेरोल र क्याल्सियमको संयोजनबाट पित्तथैलीको पत्थरी बन्दछ । अधिकांश मान्छेले सुरुमा पत्थरी सिर्जना भइरहेको महसुस गर्दैनन् र यसको कुनै लक्षण पनि देखिँदैन । पत्थरीले पाचन प्रणालीमा असर पर्न थाल्छ र पेटको माथि दायाँ भागमा हल्का वा चर्को पीडा सुरु हुन्छ । खासगरी चिल्लो खाना खाएपछि राति बारम्बार पेट दुख्ने गर्छ । यस अतिरिक्त पेट सुन्निने, चिलाउने, पेटमा वायु भरिने, कमजोरी महसुस हुने, दिसामा चिल्लो देखिने, झाडापखाला लाग्नेलगायतका लक्षण पनि पित्तथैलीको पत्थरीको अवस्थामा देखिन्छ ।
पित्तथैलीको पत्थरीको अवस्थामा ई.कोली र ब्याक्टेरोइडलगायतका ब्याक्टेरियाले सङ्क्रमणको मौका छोपेर कलेजो र पित्तथैलीमा थप समस्या ल्याउने सम्भावना रहन्छ । यस प्रकारको सङ्क्रमणले जीवनलाई सङ्कटमा पार्ने भएकाले चिकित्सकले पत्थरी निकाल्नुका साथै सङ्क्रमणको उपचार पनि उचित रूपमा गर्नु पर्दछ ।
पित्तथैलीको पत्थरीबाट जोगिन जीवनशैलीमा विचार गर्नु आवश्यक छ । आहारामा ध्यान पु-याएर हामी पित्तथैलीको पत्थरी र सङ्क्रमणलाई टाढै राख्न सक्छौँ । कलेजोमा दबाब उत्पन्न गर्ने खालका आहाराबाट बच्नु प्रमुख उपाय हुन्छ ।
चिल्लो खानु नै छ भने घाँस चरेको पशुको उत्पादन, नरिवलको तेल, ओलिभ तेल, बाख्रीको दुध उपभोग गर्नु पर्दछ । बाख्रीको दुधमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन के२ र डी३ पनि पाइने भएकाले चिल्लोका लागि घाँस चर्ने बाख्रीको दुध रोज्नु बुद्धिमानी हुन्छ ।
अर्गेनिक एसिड र प्राकृतिक एन्जाइमले समग्र पाचन प्रणालीमा विशेष भूमिका खेल्ने भएकाले कलेजो र पित्तथैलीको स्वास्थ्यका लागि कागतीको रस, रातो बन्दागोभी, स्याउ खान सकिन्छ । प्रोबायोटिक दुध दहीले समेत पाचन प्रणाली बलियो बनाउँछ ।
पित्तथैलीको पत्थरीमा कलेजोको स्वास्थ्यको भूमिका महत्वपूर्ण हुने भएकाले यस पक्षमा सबैभन्दा पहिले ध्यान दिनु आवश्यक छ । कलेजोले शरीरमा विभिन्न माध्यमबाट प्रवेश पाएका विषालु तत्वलाई अलग पारेर बाहिर निकाल्ने प्रक्रिया सुरु गर्दछ । यसका लागि कलेजोले पित्त उत्पादन गर्छ ।
विषालु तत्वको सफाइ तथा पित्त उत्पादन र त्यसको उपयोगबीचको सन्तुलन बिग्रेमा पत्थरीको अवस्था सिर्जना हुने गर्छ । त्यसैले कलेजोमाथिको तनाव कम गर्ने प्रयास गर्नु पर्दछ । खानामा कम्तीमा १२ घण्टाको अन्तर पारेमा कलेजोले राम्ररी काम गर्न पाउँछ । उदाहरणका लागि राति ९ बजे खाना खाएमा बिहान ९ बजेसम्म थप ठोस खाना नखाने । यसो गरेमा शरीरले चार घण्टामा खाना पचाउँछ र त्यसपछि कलेजोले सफाइ गर्न आठ घण्टा समय पाउँछ । यतिले हुँदैन भने प्रत्येक हप्ता दुई वा तीन पटक तरल पदार्थ मात्र पिउने गरी १६ घण्टाको उपवास बस्न सकिन्छ । २४ घण्टासम्म तरल पदार्थ मात्र पिएमा पनि कलेजोलाई सफाइका लागि समय मिल्छ ।
–युवामञ्च