• ९ मंसिर २०८२, मङ्गलबार

तीन वर्षमा पनि बनेन नारायणस्थान स्वास्थ्य चौकी

blog

बागलुङ नगरपालिका – १४ मा रहेको निर्माणाधीन नारायणस्थान स्वास्थ्य चौकी बागलुङको भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ, मङ्सिर ९ गते ।
एक वर्षमा सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकी बागलुङको भवन तीन वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन ।

साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

निर्माण व्यवसायीको चरम लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दा समेत भवन निर्माण अधुरै रहेको छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ ।

सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । २०७९ माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।

घर्तीका अनुसार दुई पटक थपेको म्याद समेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको बताउनुभयो ।

“एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटक सम्म थपेको म्याद समेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैन” घर्तीले भन्नुभयो “भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भए पनि सम्पन्न गर्ने योजनामा छ ।”

भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्याद समेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग एक करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्कविहीन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो ।

नगरपालिकाकै नमूना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाहमा सहजता प्रदान हुने शर्माको भनाइ छ ।

जनताले चन्दा उठाएर २१ लाख सङ्कलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माको भनाइ छ । उक्त भवनमा प्लाष्टर, विद्युतीकरण, झ्याल ढोका र रङ रोगनको काम गर्न बाँकी रहेको छ ।