• १९ पुस २०८१, शुक्रबार

उच्चस्तरीय भेटवार्ताको सन्देश

blog

सन् १९६० अप्रिल २८ मा नेपाल चीन शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि निरन्तर भरोसापूर्ण मित्रका रूपमा नेपाल र चीनले सहयोग आदानप्रदान गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घमा अरूले के भन्लान् भन्ने पर्वाह नगरी एक चीनको पक्षमा उभिँदै उसलाई त्यो विश्व संस्थाका सदस्यता दिलाउन नेपालको भूमिका ऐतिहासिक महत्वको छ । यस्तै नेपालको भौतिक पूर्वाधार विकासमा तत्कालीन गच्छे अनुसार, तेस्रो देशसँगको सम्बन्ध बिग्रेला कि भन्ने वास्ता नगरी चीनले सहयोग गरिरहेको छ । नेपाललाई हरेक अप्ठ्यारोका बेला सबभन्दा अगाडि सरेर सहयोगको हात बढाइरहेको छ । यतिखेर यही सहृदयी छिमेकको भ्रमणमा हुनुहुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई सम्बोधन गरी अमेरिकाको न्युयोर्कबाट सोझै चीनमा पुग्नुभएका प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय हितका विषयमा उच्चस्तरीय छलफल गर्नुभएको छ ।  


यतिखेर चीनको हान्जाओमा ११ औँ एसियाली खेलकुद (एसियाड) चलिरहेको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाडको चीनले तेस्रो पटक आयोजना गरेको हो । प्रविधिको सहर भनिने होङजाउमा ४५ देशका करिब साढे १२ हजार खेलाडी प्रतिस्पर्धामा उत्रिँदै छन् । नेपालले हालसम्म जम्मा दुई रजत र २२ कांस्य पदक मात्र हात पार्न सके पनि यस पटक दुई सय ५३ खेलाडी सहभागी गराएको छ । एसियाडको इतिहासमै सबैभन्दा धेरै खेलाडी सहभागी हुँदै गरेको हान्जाउको यो आयोजनालाई चीनका राष्ट्रपतिले नै ठुलो महत्व दिनुभएको छ । आकर्षक ‘ठुलो कमल फूल’ रङ्गशालासमेत खेल क्षेत्रको विकास लगानी, होङजाउको प्रविधि विकास मात्र होइन, कोभिड–१९ को प्रकोपबाट चीन सुरक्षित रहेको सन्देश चीनले दिएको छ । राष्ट्रपति सीले खेलाडी सहभागी विभिन्न देशका नेताहरूलाई आमन्त्रण गरी त्यहीं दुई पक्षीय एवं क्षेत्रीय हितका विषयमा छलफल गर्नुभएको छ । 


एसियाडको उद्घाटन समारोहमा अतिथिका रूपमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यहीँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा ‘खुला र स्पष्ट’ छलफल गर्नुभएको हो । वार्तामा दुवै मुलुकका मुख्य कार्यकारीबिच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबिच साझा सहकार्य जरुरी रहेको विषयमा सहमति भएको जानकारी दिइएको छ । दुवै नेताबिच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ । राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिनुभएको छ । यो सन्देशबमोजिम नै साताव्यापी भ्रमण सकेर काठमाडौँ  फर्कंदा प्रधानमन्त्रीले ल्याउने कोसेली बेइजिङमा तयार हुँदै छ ।  


प्रधानमन्त्री प्रचण्डले अहिलेको परिस्थितिमा सीले अगाडि सारेका नवीनतम अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले ‘बेल्ट एन्ड रोड’ अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले सन् २०१७ मै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गराउनुभएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अवधारणामा सैद्धान्तिक सहमतिसहित सहभागी भए पनि नेपालले यो परियोजना अन्तर्गत विस्तृत योजना प्रस्तुत गर्न र कार्यान्वयन सम्झौता हुन सकेको छैन । यसै सन्दर्भमा प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ– बिआरआईले नेपालको पूर्वाधार विकासमा सकारात्मक योगदान पु¥याउँछ, नेपालले ऋण होइन अनुदान चाहन्छ र असंलग्न परराष्ट्र नीतिमा अडिग नेपाल अरू कसैको सुरक्षा छातामुनि बस्दैन । 


यद्यपि बिआरआई सैन्य रणनीतिक परियोजना होइन । मानवीयता, विकास र शान्तिका निम्ति साझेदारी सहयोग परियोजना भनी चीनले दूर समुद्रपारसम्म परियोजना चलाइरहेको छ । विश्व बजारमा चीनको प्रभाव विस्तारका कारण प्रतिस्पर्धीहरूले यो परियोजनाबारे गरिरहेका नकारात्मक टिप्पणीलाई गलत साबित गर्न पनि अनावश्यक ऋण नलिने तर जनता जनताबिचको सम्बन्ध सञ्जाल व्यापक बनाउन सक्ने योजनाहरूमा अनुदान सहयोग स्वीकार गर्ने नेपालको स्पष्ट दृष्टिकोणमा चीन सकारात्मक बन्ने अपेक्षा छ । नेपाल कुनै पनि सैन्य रणनीतिको छातामुनि नबस्ने प्रतिबद्धताले चीनको चासोलाई पनि सहयोग पुग्ने छ । कृषि, भौतिक पूर्वाधार विकास, ऊर्जा र उद्योग क्षेत्रमा सहयोग समझदारीको नेपाली अपेक्षा पूरा गर्न चीन कार्यान्वयन तहमै अग्रसर हुँदा क्षेत्रीय विकास अवधारणा बलियो हुने छ । हिमालय सीमा वारपार सडक र रेलवे सञ्जाल विकास गर्न सक्दा नेपालको पूर्वाधार विकासमा ठुलो सहयोग पुग्छ भने चीनले समेत दक्षिण एसियाली बजारमा सहज पहुँच पाउने छ । नयाँ युगमा नयाँ दृष्टि र सोचसहितको विकासले साझा भविष्य साकार हुने छ ।