• १४ कात्तिक २०८२, शुक्रबार

पर्यटकको आकर्षणमा ऐतिहासिक चन्दननाथ मन्दिर

blog

नेत्र शाही 

जुम्ला, कात्तिक १४ गते । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा दर्शन गर्ने पर्यटक अत्यधिक बढेका छन् । ऐतिहासिक इतिहास रहेको चन्दननाथ मन्दिरमा अहिले रारा, सिंजा आउने पर्यटक दर्शन तथा अवलोकन गर्ने अनिवार्यता जस्तै भएको छ । 

पर्यटकहरु जुम्लाको चन्दननाथ मन्दिर दर्शनका लागि भरिभराउ भएका कारण अहिले जुम्ला बजारमा भिडभाड बढेको हो । चन्दननाथ अवलोकन गर्ने भक्तजन सरकारी पदको उच्च तहमा रहेकादेखि सर्वसाधारण अहिले धमाधम आइरहेका छन् । 

दसैँ तिहारको बिदाको समय लिएर पर्यटक अहिले बढ्ने गरेका हुन् । जुम्लाको चन्दननाथ मन्दिरमा मात्रै पछिल्लो समयमा मात्र सात हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेका छन् । 

यो क्षेत्रमा कर्णाली राजमार्ग हुँदै रारातालमा आउने तथा जहाजमा आउने पर्यटकहरु चन्दननाथ मन्दिरमा दर्शन गर्नेको भिड लागेको हुन्छ । जुम्ला सदरमुकामको मुख्य बजारमा रहेको चन्दननाथ मन्दिरमा ललितपुर महानगरपालिकाले त ढुङ्गाको कलात्मक मन्दिरसमेत आफैँ निर्माण गरिदिएको छ । जुम्लाको चन्दननाथ नगरपालिकासँगको भगिनी सम्बन्ध कायम गरेर ललितपुर महानगर प्रमुख चिरिबाबु मर्हजनले जुम्ला आएर ढुङ्गाको कलात्मक मन्दिर आफैँ उद्घाटन गर्नुभएको छ । 

महानगरप्रमुख महर्जनसहित जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत रेशादास श्रेष्ठले जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन तथा अवलोकन गरेका छन् । महानगर प्रमुख महर्जनलाई स्थानीय बाजागाजासहित स्वागत गरिएको थियो । 

उहाँ मात्रै नभई अहिले आन्तरिक तथा बाह्य पर्यटकहरु जुम्लाको चन्दननाथ मन्दिरमा बढेका छन् । दशैं सकिएलगत्तैबाट दैनिक जिल्ला बाहिरका सयौँ पर्यटक चन्दननाथ मन्दिर आउने गरेका छन् । कतिपय पर्यटक मन्दिरको पूजामा पनि सहभागी भएका छन् । रारा र सिंजा घुम्न आएका चितवनका पूर्णराज दवाडीले समेत चन्दननाथ मन्दिरको अवलोकन तथा दर्शन गर्नुभयो । उहाँसँगै ६७ जनाको टिम चन्दननाथको अवलोकनपछि नेपाली भाषाको उद्गम स्थल सिंजा हुँदै राराताल पुगेको छ । चन्दननाथ मन्दिर धार्मिक पर्यटकका लागि निकै राम्रो लागेको पर्यटक दवाडीले बताउनुभयो ।  अहिले बस, जीप, मोटरसाइकल मात्रै नभई जहाजमा समेत चन्दननाथ, रारा र सिंजा घुम्ने समूह धमाधम आउने गरेका छन् । 

धार्मिक पर्यटकीय सर्किट बनाउनुपर्छ  

चन्दननाथ भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार चन्दननाथ मन्दिरमा यो समयमा पर्यटकको घुइँचो भइरहेको बताउनुभयो । उहाँका अनुसार यसको महत्वका विषयमा पर्यटकहरुले बुझेर आउने गरेका छन् । उहाँका अनुसार दत्तात्रयको मन्दिरको रुपमा परिचित यो मन्दिरलाई चन्दननाथ भनिन्छ । उहाँका अनुसार यो मन्दिरमा घटस्थापनाको दिनमा हजारौँ दर्शकको बिचमा नयाँ लिङ्गा हाल्ने चलन छ । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार धार्मिक आस्था मात्रै नभई खस सभ्यताको इतिहास र प्राकृतिक सङ्गम चन्दननाथ भैरवनाथ मन्दिर हो । सरकारले यसलाई प्रथामिकता दिएमा यस मन्दिरलाई तीर्थालु र पर्यटक थप आकर्षण गर्ने, जुम्ला मुगु डोल्पा हुम्ला मानसरोवरको धार्मिक सर्किट निर्माण गर्न सकिने उहाँ बताउनुहुन्छ ।