काठमाडौँ, कात्तिक १४ गते । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।
सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।
प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिता स्पष्ट पार्ने उद्देश्यसहित चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर प्रमुख चुनौतीबारे स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लगि सुझाव दिएको हो ।
भेटपछि एक विज्ञप्ति जारी गरी सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै सङ्घले मानवस्रोत तथा समायोजनका समस्या रहेको जानकारी गराएको छ ।
“सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाकको सञ्जाल, स्थानीय सरकार, कानुनी प्रावधानहरु जस्ता आधारभूत संरचनामा सुधार आवश्यक छ । स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानवस्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय आवश्यक छ । यसका लागि पहल होस्”, सङ्घले भनेको छ । रासस
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                