• १३ मंसिर २०८१, बिहिबार

बालबालिकाको पोषण लेखाजोखा गर्न स्वास्थ्य शिविर

blog

बालबालिकाका स्वास्थ्य परीक्षणका लागि आएका अभिभावक । तस्विर : नवराज कट्टेल

नवराज कट्टेल

विराटनगर, असोज ७ गते । विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सुरु गरेको छ । विराटनगरका सबै वडामा क्रमशः शिविर सञ्चालन गरेर पाँच वर्षमुनिका बालबालिकाको पोषण लेखाजोखा गरिने भएको हो । 

महानगरले वडा १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबार सेवाको शुभारम्भ गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । शिविरमा बालरोग विशेषज्ञ, पोषण विशेषज्ञ, स्वास्थ्य परामर्शदाता, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी लगायतले सेवा दिनेछन् । 

विराटनगर महानगरपालिका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले पाँच वर्षभन्दा मुनिका बालबालिकाको पोषण लेखाजोखा गरेर पोषणयुक्त सामग्री वितरणदेखि औषधिसम्म निःशुल्क प्रदान गर्ने लक्ष्यसहित विशेष प्रकारको शिविर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार महानगरपालिका भित्रका बालबालिका कुपोषणको सिकार हुनबाट जोगाउने लक्ष्य र उनीहरूको स्वास्थ्य अवस्था बुझ्न शिविर सञ्चालनमा ल्याइएको बताउनुभयो । विराटनगरका १९ वटै वडामा यो टोलिले शिविर सञ्चालन गर्नेछ । जसमा सहभागी गराइएका पाँच वर्षमुनिका बालबालिकाको पोषणस्थिति पत्ता लगाइने छ । 

बालबालिकाको पाखुराको जाँचका साथै उचाइ र तौलसमेत जाँचगरी पोषणको लेखाजोखा गरेर आवश्यक पर्दा पोषणयुक्त खाद्यवस्तु वितरण गर्ने कार्यक्रम राखिएको छ । कुपोषण भएका बालबालिकालाई बालरोग विशेषज्ञ तथा पोषण विज्ञको सल्लाहअनुसार तीन महिनासम्म पोषण सामग्री प्रदान गर्ने कार्यक्रम राखिएको छ । 

पोषण सामग्रीमा चना, दाल, दूध, केरा, अण्डा, चामलसमेत उपलब्ध गराउने र उनीहरूलाई तीन महिनासम्म नियमित परीक्षण र अभिभावकलाई परामर्शमा राखिने कार्यवाहक मेयर कार्कीले जानकारी दिनुभयो । शिविरमा आउने सबै बालबालिकालाई सरसफाइ प्रवर्धन गर्न हात धुने साबुनसमेत प्रदान गरिनेछ ।

बिरामी पत्ता लागेका बालबालिकालाई निःशुल्क औषधि प्रदान गर्नुका साथै रेफर गर्नुपरेको अवस्थामा अस्पतालसँग समन्वयगरी निःशुल्क उपचारको व्यवस्था मिलाइने भएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख अलीका अनुसार स्वास्थ्य शिविरमा बालबालिका सहभागी गराउन वडामा कार्यक्रम सञ्चालन हुनुभन्दा तीन दिन अघिदेखि प्रचार–प्रसार समेत गरिनेछ । कम आयआर्जन भएका परिवारलाई लक्षित गरी सञ्चालनमा ल्याइएको कार्यक्रममा सहभागीको उपस्थिति समेत उत्साहजनक रहेको छ ।