• १२ पुस २०८१, शुक्रबार

वर-पीपलको गणना गरिँदै

blog

सुशील श्रेष्ठ

प्युठान, असोज ७ गते । स्वर्गद्वारी नगरपालिका –८ बर्जिवाङस्थित दहचौरमा वरपीपलको बगैँचा बनाइएको छ । शान्ति पार्कको रुपमा निर्माण गर्न लागिएको उक्त स्थानमा स्थानीय वरपीपलका बिरुवा लगाइएका छन् । वरपीपलको संरक्षणसँगै बगैँचा बनाउन स्थानीयले प्रयास थालेका हुन् ।

‘वरपीपलको बगैँचा बनाउने योजना छ’ स्थानीय दलबहादुर केसीले भन्नुभयो, ‘स्थानीयले वरपीपल रोपेर संरक्षण गरिरहेका छन् ।’ शान्ति पार्कको रुपमा समेत उक्त स्थानमा विभिन्न पर्यटनसँग जोडिएका संरचना बनाइएको उहाँले बताउनुभयो । वरपीपललाई पर्यटनसँग जोडेर संरक्षण गर्न लागिएको केसीले बताउनुभयो ।

हजुरबुवाले लगाएको वरपीपलका बिरुवा अहिलेसम्म रहेको र ती वरपीपलको संरक्षण गर्दैआएको मल्लरानी गाउँपालिका –३ का गोरबहादुर विकले बताउनुभयो । वरपीपलसँगै जोडेर चौतारी  बनाएको उहाँले बताउनुभयो । वरलाई शिव, पीपललाई विष्णु र स्वामीलाई ब्रह्माको रुपमा पुुज्ने चलन छ ।

सडक निर्माणका क्रममा थुप्रै वरपीपलका रुख मासिँदै गएका छन् । हिजोआज वरपीपलका रुख रोप्ने चलन कम हुँदैगएको मल्लरानी गाउँपालिका –३ बर्बोटकी सावित्रा पौडेलले बताउनुभयो । ‘वरपीपलको पूजा, वरपीपलसँग बिहे गरिदिने चलन छ’ उहाँले भन्नुभयो, ‘तर अहिले वरपीपल लगाउने चलन हराउँदै गएको छ ।’

जिल्लामा अहिले डिभिजन वन कार्यालय प्युठानले वरपीपलको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । सहायक डिभिजन वन अधिकृत दिपक केसीले झण्डै दुई हजार वरपीपल र स्वामीका बिरुवा जिल्लामा भएको बताउनुभयो । आर्थिक वर्ष २०७९–८० मा सङ्कलन गरिएको तथ्याङ्कअनुसार ८३० वटा वर, नौ सय वटा पीपल र १३० वटा स्वामीका रुख भेटिएका छन् । वरपीपलका रुख पुरानो र बुढो भइसकेका छन् । कार्यालयले सङ्कलन गरेको तथ्याङ्कमा भेटिएका रुखहरु पनि धेरैजसो बुढो र पुराना छन् ।