• २० वैशाख २०८१, बिहिबार

५० प्रतिशत रकम जुटाउन नसक्दा विद्यालय भवन बनाउन आएको रकम मन्त्रालयमै फिर्ता

blog

कुस्मा पर्वत, असोज ७ गते । पर्वतको कुस्मा नगरपालिकास्थित दुर्लुङ थुममा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयले भवन निर्माणका लागि आएको रकम मन्त्रालयमै फिर्ता गर्ने भएको छ । दुई वर्षसम्म पनि भवन निर्माण गर्न नसकेपछि विद्यालयले भवन निर्माणका लागि आएको ३६ लाख रकम फिर्ता पठाउन लागेको हो । 

विद्यालयले भवन निर्माणका लागि थप ५० प्रतिशत रकम जुटाउन नसकेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत आएको रकम फिर्ता पठाउने भएको हो । शिक्षा मन्त्रालयबाट विद्यालयलाई चार कोठे भवन बनाउन भनी साझेदारीमा काम गर्ने गरी ३६ लाख रकम मिलेको थियो । 

आर्थिक वर्ष २०७८-०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन निर्माणका लागि सशर्त प्राप्त मिलेको रकम दुई वर्ष बितिसक्दा पनि विद्यालयकै खातामा छ । कुस्मा नगरपालिकाले भवन बनाउन आएको रकम विद्यालयकै खातामा राखिदिएको थियो । विद्यालयका लागि पक्की भवनको खाँचो भएर नै रकमका लागि प्रस्ताव गरिएको भए पनि समुदाय स्तरबाट रकम जुटाउन नसकेपछि भवन भने निर्माण हुन सकेन ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर गुरुङका अनुसार चारकोठे पक्की भवन ७२ लाख खर्च गर्नुपर्छ । बजेट निर्माणका लागि आएको रकम जम्मा ३६ लाख छ । विद्यालयसँग आफ्नो आर्थिक स्रोत छैन । अध्यक्ष गुरुङ भन्नुहुन्छ–“विद्यालयको आफ्नो पक्की भवन छैन । रकम आएदेखि पक्की भवन बनाउन हुने थियो भनी बजेटका लागि प्रस्ताव राखियो । भवन निर्माणका लागि ५० प्रतिशत रकम विद्यालयले जुटाउन पर्छ भन्ने कुरा नै थाहा भएन । नियमानुसार काम गर्न रकम जुटाउन नसके विद्यालय व्यवस्थापन समिति सदस्य, अभिभावक, जनप्रतिनिधिको बैठक बसेर रकम फिर्ता गर्ने निर्णय गरेका छौ ।” 

विद्यालयका प्रअ श्यामसुन्दर सापकोटाले भवन निर्माण गर्न नसकेर रकम फिर्ता पठाउनुपर्दा दुःख लागेको बताउनुभयो । प्रअ सापकोटाका अनुसार विद्यालयमा कच्ची संरचना छन् । भूकम्पले विद्यालयका कच्ची भौतिक संरचनालाई असर पुराएको अवस्था छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्या करिब एक सय पचास छ । कुस्मा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु तिवारीले भवन निर्माण गर्न नसकेपछि विद्यालयले रकम आफ्नो खातामा राख्ने हैन । अब छिटै रकम फिर्ता गर्नुपर्ने उहाँको भनाइ छ । 

Author

प्रनिश गिरी