• १७ मंसिर २०८०, आइतबार

‘अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस’ मनाइने

blog

काठमाडौँ, असोज ७ गते । नेपालमा खुला कविता प्रतियोगिता गरी विद्यालय दुध दिवस मनाइने भएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर यो दिवस मनाइन्छ । यो दिन विश्वमा कुनै पनि स्कुल बन्द हुँदैनन् भन्ने मान्यता रहेको छ र सबै बालबालिकालाई दुधको महत्त्व बुझाई दुध तथा दुग्ध पदार्थबाट कोही पनि वञ्चित नहोस् भनी अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस मनाउन सुरु गरिएको पाइन्छ । 

यो वर्ष सेप्टेम्बर महिनाको २७ तारिखमा यो दिवस परेको छ । अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस पहिलो पटक विश्व स्वास्थ्य सङ्गठनले सेप्टेम्बर महिना सन् २००० बाट मनाउन सुरु गरिएको बताइन्छ । त्यस बेलादेखि एफएओले यो दिवस प्रवर्धन गर्दै आएको छ । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले यसपालि नेपालमा विद्यालय तहमा खुला कविता प्रतियोगिता गरी यो दिवस मनाउने जानकारी दिनुभयो । दिवस राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को संयुक्त सहकार्यमा नेपाल डेरी एसोसिएसनले आयोजना गर्न लागेको उहाँले बताउनुभयो । 

प्रतियोगिता विद्यालय तहका कक्षा ३ देखि १० सम्मका विद्यार्थीबिच खुला कविता प्रतियोगिता वाचन गरी सञ्चालन हुने जानकारी उहाँले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले बालबालिकाको चौतर्फी विकासका लागि सहयोग पुग्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउन ठुलो सहयोग पुग्ने विश्वास रहेको उहाँले बताउनुभयो । 

यो कार्यक्रमले बालबालिकालाई दुध तथा दुग्ध पदार्थबारे जानकारी हुने छ । एसोसिएसनले आफ्ना मातहतका सबै स्थानीय तह, जिल्ला र प्रदेश समितिलाई विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस मनाउन निर्देशन गरिसकिएको जानकारी उहाँले बताउनुभयो । 

कविताको विषय दुध, मोही, खिर, पनिर जस्ता दुग्धजन्य वस्तुसँग सम्बन्धित हुनुपर्ने छ । प्रतियोगितामा विजयी पाँच जनालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । एउटा विद्यालयबाट बढीमा दुई जना विद्यार्थीले भाग लिन सक्ने छन् । असोज ८ सम्म विद्यार्थीको नाम दर्ता गरिसक्नुपर्ने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।