• २१ वैशाख २०८१, शुक्रबार

तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछ : अध्यक्ष चन्द

blog

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षमा चतुरबहादुर चन्द ।

काठमाडौं, असोज ६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन हुनुभएको छ । शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन हुनुभएको हो भने शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन हुनुभएको हो ।

यस्तै, अन्य पदाधिकारी चयनका लागि भने शनिबार दिउँसोबाट मतदान सुरु भएको छ । चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध हुनुभएको छ । सचिवमा भने पूर्व क्रिकेटर पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पुर्‍याउनुपर्ने चुनौती रहेको जिकिर गर्नुभयो । उहाँले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिलो तीन महिना भित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ ।’’

उहाँले पद पाएसँगै जिम्मेवारी बढेको महसुस भएको बताउनुभयो । उहाँले अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिबद्धता जनाउनुभयो ।