• ७ मंसिर २०८१, शुक्रबार

पर्यटक तान्न उत्सुक तराई–मधेश

blog

जनकपुरको जानकी मन्दिर । तस्बिर : अमरेन्द्र कुमार यादव

नेपाल हिमाल, पहाड र तराई–मधेश भूभाग मिलेर बनेको छ । प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको रूपमा नेपाल विश्वमै अद्वितीय स्थल हो । यस्तो स्थल पर्यटनका दृष्टिले कति समृद्ध हुन्छ भन्न पर्दैन तर देशको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटनको विकासमा हिमाल र पहाडको जति चर्चा हुन्छ, त्यति तराई–मधेशको चर्चा भएको पाइँदैन । त्यसैले तराई–मधेश पर्यटकीय दृष्टिले कति सम्भावना बोकेको क्षेत्र हो ? यसबारे उठान गर्ने कोसिस गरिएको छ ।

पर्यटनका लागि पूर्वाधार जरुरी हुन्छ तर पूर्वाधार मात्रै भएर हुँदैन । दक्ष जनशक्तिमार्फत सम्बन्धित पर्यटकीय स्थलबारे पर्यटकलाई सहज सूचना एवं जानकारी उपलब्ध गराउनु र पर्यटकलाई व्यस्त राख्न पर्यटकीय स्थलको कडी निर्माण गर्नु महत्वपूर्ण पक्ष हो । पर्यटकीय गन्तव्यका लागि प्रख्यात नेपालको काठमाडौँ, लुम्बिनी र पोखरासहित चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने पर्यटकलाई यस प्रकारका दक्ष एवं प्रशिक्षित जनशक्तिको अभाव छैन । हिमाल आरोहण गर्न आउने पर्यटकको हकमा भने इजाजतप्राप्त जनशक्ति नै कार्यरत छन् । 

मधेशमा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलको रूपमा पर्यटकीय स्थल पर्याप्त छन् तर पर्यटकीय स्थल र वरिपरिको सूचना एवं जानकारी सहज उपलब्ध हुने एउटा अद्यावधिक नक्सासम्म छैन । टुरिज्म बोर्डको कार्यालय छैन । मधेशमा बाह्य पर्यटकले घुम्नपर्ने स्थलको सूची देखिन्न । पर्यटकीय स्थलसम्म पुग्न पहुँच सहज छ तर पर्यटन संयन्त्रले पर्यटकको चाहना र अपेक्षाबमोजिम पर्यटकीय परिपथ बनाउन सकेको छैन । प्रादेशिक संरचनाले काम सुरु गरेको दोस्रो चक्र सुरु भएको छ तर पर्यटन प्रवर्धन गर्न र निकायलाई सम्बोधन गर्ने गरी पर्यटन ऐन ल्याउन सकिएको छैन । 

सन् २०२२ मा ७९ हजार १४६ जना धार्मिक पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या नेपाल भ्रमण गर्ने कुल पर्यटकको १२.९ प्रतिशत हो । सन् २०१० यताकै दोस्रो सबैभन्दा बढी पर्यटक धार्मिक यात्रामा नेपाल आएका छन् । यसअघि सन् २०१० मा कुल छ लाख दुई हजार ८६७ जना पर्यटक नेपाल भ्रमण गर्दा धार्मिक पर्यटक एक लाख एक हजार ३३५ थिए । काठमाडौँस्थित पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ, रूपन्देहीको लुम्बिनी र धनुषाको जनकपुरधामस्थित जानकी मन्दिर हिन्दु पर्यटकको मुख्य गन्तव्य स्थल हो । 

उद्देश्यको आधारमा वर्गीकरण गर्दा बिदा मनाउन सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटक गत वर्ष नेपाल भ्रमण गरेका छन् । तीर्थयात्रामा आउने पर्यटक करिब १२.९ प्रतिशत छन्, जुन दोस्रो सबभन्दा बढी हो । व्यवसाय, हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकको सङ्ख्या बिदा मनाउन र तीर्थयात्रामा आउनेको भन्दा कम छ । 

धार्मिक पर्यटन र सम्पदा

नेपालमा तेस्रो देशका पर्यटकलाई आकर्षित गर्ने मुख्य क्षेत्र हो, सम्पदा । संयुक्त राष्ट्रसङ्घको विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका दस वटा सम्पदा छन् । सूचीमा ११ औँ सम्पदा सूचीकृत गराउने नेपाल सरकारको प्रयास हालसम्म सफल हुन सकेको छैन । जनकपुरधामस्थित रामजानकी मन्दिर, मुस्ताङको लोमान्थाङ दरबारलाई सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया सुरु भएको करिब दुई दशक भयो तर सो प्रयास सफल भएको छैन । 

सेप्टेम्बर २०२३ सम्म विश्वका १६८ राष्ट्रका एक हजार १९९ वटा सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन्, जसमध्ये करिब ९२५ वटा सांस्कृतिक, २२० प्राकृतिक र ३९ वटा मिश्रित सम्पदा छन् । 


विश्वसम्पदा सूचीको किन पनि चर्चा गरिएको हो भने उक्त सूचीमा सूचीकृत भएका सम्पदा स्थल बाह्य पर्यटक आकर्षणको एउटा मुख्य स्रोत हो । जानकी मन्दिर, लोमान्थाङ र गोरखा दरबारलगायत थुप्रै स्थल युनेस्कोको ‘टेन्टेटिभ’ सूचीमा छन् । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)ले मान्यता दिने विश्वसम्पदा सूचीको सम्भावित (टेन्टेटिभ) मा रामजानकी मन्दिर सन् २००८ देखि नै समावेश छ । जानकी मन्दिर सन् १९११ मा मुगल शैलीमा निर्मित सम्पदा हो । 

त्रेतायुगीन राजा जनकको राजधानी प्राचीन मिथिलाको जनकपुरधाममा जानकी मन्दिर अतिरिक्त मणि मण्डप, धनुषाधामलगायत अन्य धार्मिक स्थल पनि छन् । सप्तरीको भारदहस्थित कङ्कालनी मन्दिर, सखडा भगवती, सिरहाको सलहेश फूलबारीसहित धनुषा, महोत्तरीका धार्मिक स्थल, बाराको गढीमाई मन्दिर धार्मिक पर्यटनका लागि थुप्रै सम्भावना बोकेका छन्, जसलाई एकअर्कासँग जोड्न सकिएको छैन । 

वन्यजन्तु र चरा अवलोकन 

मधेशमा सम्भाव्यता बोकेको अर्को क्षेत्र हो, वन्यजन्तु पर्यटन तर सहजै पुग्न सकिने भए पनि उचित प्रचारप्रसार र पूर्वाधारको अभावमा मधेशका आरक्ष र राष्ट्रिय निकुञ्जले अपेक्षाकृत पर्यटकलाई आकर्षित गर्न सकेको छैन । भारतको उत्तरप्रदेश र बिहार राज्यबाट केही किलोमिटरकै दुरीमा मधेशको कोशी टप्पु वन्यजन्तु आरक्ष र पर्सा राष्ट्रिय निकुञ्ज छन् । 

नजिकैको चितवन राष्ट्रिय निकुञ्जमा २०७८/७९ मा ३४ हजार ७८७ जना पर्यटकले भ्रमण गर्दा पर्सा राष्ट्रिय निकुञ्ज सुनसान रहेको तथ्याङ्कले देखाउँछ । सोही वर्ष पर्सा राष्ट्रिय निकुञ्जमा जम्मा आठ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष भ्रमण गर्ने पर्यटकको सङ्ख्या भने १२६ छन् । 

नेपालमा अति दुर्लभ मानिएको अर्नाको बासस्थान रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा ४९० प्रजातिका चरा पाइन्छन् । विश्व पर्यटनमा चराको अवलोकनलाई सबैभन्दा महँगो र रोमाञ्चकारी पर्यटनको रूपमा लिइन्छ । चराको अवलोकन गर्न आउने पर्यटकको बसाइ लामो अवधिको हुने हुनाले महँगो हुन गएको हो । 


सप्तरी र सुनसरीको केही भागमा पर्ने यो आरक्ष लालसर, गरुड, सारसलगायत चरासहित घडियाल तथा मगरगोहीको बासस्थान हो । त्यसो त चिसो मौसममा ‘माइग्रेट’ भएर धनुषाको परशुराम तलाउ र धनुषाधामको सिमसार क्षेत्रमा साइबेरियन चरा पनि आउने गरेका छन् । 

तर वर्षौंसम्म सो क्षेत्रलाई संरक्षण गरी राख्न नसक्दा उजाड जस्तै देखिएको छ । यद्यपि धनुषाधाम वनमा पछिल्लो एक दशकमा गरिएको वन संरक्षणको कार्यक्रमले साइबेरियाली चरालाई पुनः आकर्षित गर्न थालेको छ । दस विघा क्षेत्रफलमा निर्मित धनुषाधाम वन क्षेत्रको तलाउ चिसो मौसममा चराको हुलले भरिभराउ हुन्छ । 

रामायण सर्किट

त्रेतायुगमा भगवान् श्रीरामचन्द्रले जुन, जुन ठाउँमा चरण राखे ती ठाउँलाई एउटै परिपथमा जोडेर रामायण सर्किट नाम दिइएको छ । भारतले रामायण सर्किटको अवधारणा सन् २०१४ मै ल्याएर बजेट प्रस्ताव गरी पूर्वाधार विकास गर्दै आएको छ । अयोध्या र जनकपुरधामबिचको ६५० किलोमिटरको दूरीमा कृषि, औद्योगिक, परिवहन र पर्यटन गरी चार क्षेत्रमा विशेष विकास गर्ने उसको रणनीति छ । 

रामायण सर्किट अन्तर्गत भारतको अयोध्या, शृङ्गवेरपुर र चित्रकुट, सीतामढी, बक्सर र दरभङ्गा, नन्दीग्राम, महेन्द्रगिरी, जगदलपुर, भद्राचलम, रामेश्वरम्, हम्पी, नासिक र नागपुर गरी १५ स्थल पर्छ । नेपालमा धनुषाको जनकपुरधाम, महोत्तरीको कञ्चनवनसहित श्रीरामले जुन जुन ठाउँमा चरण राखे ती स्थल पनि रामायण सर्किटमा स्वतः आएका छन् । 

सोही अवधारणालाई मूर्त रूप दिन भारतले रेल नै सञ्चालन गरेको छ । भारतको जयनगरदेखि नेपालको जनकपुरधामसम्मको नेपाल रेल्वेको सेवाले उक्त पर्यटक रेल सेवालाई जोडेकाले जनकपुरधामको पर्यटनमा टेवा पुग्ने छ । 

विवाह स्थल 

मङ्सिर महिनामा जानकी मन्दिरमा रामजानकी विवाह महोत्सव धुमधामले मनाइन्छ । नेपालको आन्तरिक पर्यटकका अतिरिक्त भारतबाट हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन जनकपुरधाम आउँछन् तर बासको उचित व्यवस्था हुन्न । खानेपानीको अभाव हुन्छ । विवाहपञ्चमीमा आउने अधिकांश भारतीय पर्यटक जानकी मन्दिरको प्राङ्गणमा सुत्ने, सय पचासको खाजा खाना खाएर भोलिपल्ट बिहानै फर्किन अभ्यस्त छन् । अन्य विकल्प दिन सकेका छैनौँ । 

ठुलो सङ्ख्यामा अटाउन सक्ने सस्तो दरको धर्मशाला छैन । नजिकैको धनुषाधाम मन्दिर र धनुषाधामस्थित धार्मिक वनको अवलोकन/भ्रमण गर्न बुझाउन सकिएको छैन । जनकपुरधाम आएकै बेला फरक भौगोलिक अवस्था रहेको सिन्धुलीगढी वा नजिकैको अन्य रमणीय स्थलसम्म भ्रमणको प्याकेज बनाइदिने वा बुझाइदिने संयन्त्र छैन । सो अवसरलाई जनकपुरधाममा विवाह स्थल (वेडिङ स्पट)को रूपमा विकास गर्न सकिन्छ । नेपालकै अन्य भेगबाट आउने केहीले विवाहपञ्चमीकै दिन विवाह गर्छन् तर सो अवसरलाई पर्यटनको दृष्टिकोणले व्यवस्थापन गर्न सकिएको छैन । 

जनकपुरधामबाट करिब १६ किलोमिटर उत्तर पूर्वमा धनुषाधाम मन्दिर अवस्थित छ । रामले सीता स्वयम्वरमा धनुष उठाउने क्रममा भाँच्न गएको धनुषको एक टुक्रा धनुषाधाममा खसेको विश्वास गरिन्छ । माघ महिनाको प्रत्येक आइतबार धनुषाधाम मन्दिरमा मकर मेला लाग्छ । 

जनकपुरधाम भ्रमण गर्न आउने धार्मिक पर्यटकका लागि धनुषाधाम अर्को धार्मिक क्षेत्र हो । धनुषाधाम मन्दिर नजिकै धार्मिक वन र वनस्पति उद्यान अवस्थित छ । प्राकृतिक सौन्दर्यका लागि धनुषाधाम धार्मिक वन र वनस्पति विज्ञानमा रुचि राख्नेलाई उद्यान महत्वपूर्ण स्थल हो । उद्यानभित्र करिब दुई सय प्रजातिका धार्मिक यज्ञयज्ञादिमा काम लाग्ने वनस्पति छन् । सेतो मुसली, सर्पगन्धा, रुद्राक्ष, रक्तचन्दन, कपुर, पलाँस, श्रीखण्ड, अश्वगन्धा जस्ता दुर्लभ तथा बहुउपयोगी प्रजातिका वनस्पतिको संरक्षण गरी वनस्पति विकासको उपाय अवलम्बन गरिएको छ ।

वनस्पति उद्यानभित्रै शैक्षिक र दुर्लभ वनस्पतिको उद्यान छ । धार्मिक उद्यानमा धार्मिक अनुष्ठान तथा यज्ञमा काम लाग्ने शमी, पाखर, सिमरलगायतको वनस्पति तथा बोटबिरुवाको संरक्षण गरिएको छ । शैक्षिक उद्यानमा लोपोन्मुख तथा दुर्लभ प्रजातिका वनस्पतिको बोटेनिकल नाम र वनस्पतिको उपयोगबारे उल्लेख गरिएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्राले शैक्षिक उद्यानको अवलोकनका लागि उक्त उद्यान उपयुक्त छ । 

मधेश जोड्न ‘कल्चर भिलेज’

मधेशमा पर्यटन र धार्मिक सम्पदा एक अर्काको पर्यायवाची हुन् । सप्तरीको भारदह र सखडा भगवती, सिरहाको सलहेश फूलबारी, धनुषाको जनकपुरधाम र धनुषाधाम तथा महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर, रौतहट र बाराको गढीमाई मन्दिर प्रमुख धार्मिक स्थल हुन् । यी स्थललाई पर्यटनसँग जोड्नका लागि पूर्वाधार विकासको नाममा स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ । यद्यपि योजनाबद्ध र व्यवस्थित हुन सकेको छैन । 

यसैबिच निजी प्रयासमा जनकपुरधामभन्दा करिब १३ किलोमिटर उत्तरपूर्वमा ‘कल्चर भिलेज’ बनाइएको छ । पाँच बिघा क्षेत्रफलमा रहेको उक्त भिलेजमा पर्यटकलाई आफ्नो रुचि अनुसारको काममा व्यस्त बनाउन खेतीपाती, ‘फिसिङ’, स्थानीय परिकार बनाउन सिकाउने, राति झिझिया तथा झरी नृत्य प्रदर्शन गरिँदै आएको छ । 


पर्यटकको रुचि अनुसार नै बाहिर घुम्ने इच्छा भएमा नजिकै रहेको जनकपुरधामस्थित जानकी मन्दिरको भ्रमण र महागङ्गा आरतीमा सहभागी गराइन्छ । फरक मौसमका लागि सिन्धुलीगढी भ्रमण र वन्यजन्तु अवलोकनका लागि पर्सा राष्ट्रिय निकुञ्जसम्म पर्यटकलाई ओहोरदोहोरको व्यवस्थापनसमेत कल्चर भिलेजले गर्दै आएको छ । बालुवा, सिमेन्ट, कङ्व्रिmट जस्ता संरचनाभन्दा पृथक् परम्परागत माटोको घर र खुला वातावरणसहितको प्रकृतिमा रुचि राख्ने पर्यटकका लागि कल्चर भिलेज उपयुक्त बसोबास स्थल हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्म सो भिलेजमा जर्मनी र बेलायतका गरी आठ जना विदेशी पर्यटक आएका छन् । 

कल्चर भिलेज मधेशको संस्कृति, रहनसहन, पहिरन बुझाउने थलोको रूपमा विकसित हुँदै छ । मिथिलामा मनाइने छठ, होरी, जुडशीतललगायतका पर्व, पारम्परिक विवाह एवं अन्य संस्कार तेस्रो राष्ट्रका पर्यटकलाई बुझ्न र अध्ययन गर्न यो उपयुक्त स्थल हो । 

चुरेको फेदमा भरत ताल

मधेश प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले भरत ताल भ्रमणलाई आफ्नो प्राथमिकतामा राख्दै आएका छन् । बागमती नगरपालिकामा पर्ने भरत ताल १२१ विघा क्षेत्रफलमा फैलिएको छ । तालमा डुङ्गा सयर गर्न र नजिकै वनभोज स्थलसमेत रहेकाले कम्तीमा एक दिन बस्ने गरी आउने पर्यटकको सङ्ख्या बाक्लिँदै छ । 


स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त लगानीमा उक्त तालको निर्माण र सौन्दर्यीकरणको काम हुँदै छ । बढी हुँदा निकाल्न र कम हुँदा पुनर्भरण गर्न ताललाई बागमती नदीसँग सुली गेट बनाएर जोडिएको छ । चुरे पर्वतको फेदी र सधैँ बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रूपमा विकसित हुँदै छ । 

इतिहास बुझ्न सिम्रौनगढ 

मधेश प्रदेशको बारा जिल्लाको कलैयाबाट करिब २२ किलोमिटर दक्षिण पूर्वमा सिम्रौनगढ बजार अवस्थित छ । सूर्यविक्रम ज्ञवालीले लेख्नुभएको नेपाल उपत्यकाका मध्यकालीन इतिहासमा इसं १०९७ मा सिम्रौनगढ तिरहुत राज्यको राजधानीको रूपमा रहेको उल्लेख छ । दक्षिण भारतबाट आएका कर्णाटक वंशी नान्यदेव सिम्रौनगढ राज्यका प्रथम राजा थिए । तीब्बती तीर्थयात्री धर्मस्वामीले रामसिंह देवलाई इसं १२३४ मा तिरहुतका राजा भनी लेखेको अनुसन्धाता केपी जयसवालले ‘बायोग्राफी अफ धर्म स्वामी’मा लेख्नुभएको छ । त्यसपछिका शासक हरिसिंह देवले सिम्रौनगढमै रही शासन चलाएको इतिहासकारहरूले दर्शाएका छन् । 

तर सन् १३२४ मा तत्कालीन दिल्लीका शासक तुगलक वंशी सुल्तान गयासुद्दीनले बङ्गालमाथि आक्रमण गरी फर्कंदा स्थानीय राजाले तिनीहरूमाथि आक्रमण गरेका थिए । तर सुल्तानको फौजले ती राजालाई पराजित गरी फर्कंदा एउटा ठुलो किल्ला फेला परेको थियो । ठुलो लुटपाटपछि तिरहुतको शासन एउटा अहमद खाँको हातमा छोडेको विक्रम संवत् २०२२ मा प्रकाशित बालचन्द्र शर्माले लेखेको नेपालको ऐतिहासिक रूपरेखामा उल्लेख छ । सुल्तानको फौजले तिरहुत राजाले स्थापना गरेका मन्दिर तथा मूर्तिकलामा क्षतिसमेत पु¥याए । 

हालको सिम्रौनगढमा समेत इशरा तलाउको पश्चिमतर्फ कङ्काली मन्दिरसहित धार्मिक पीठहरू छन्, जहाँ मूर्तिमा क्षति पु¥याइएको अझै देख्न सकिन्छ । बाँकी अवशेष पनि छरिएका छन्, जसको संरक्षण एवं शोधखोज भएको देखिन्न । न त पुरातात्त्विक अध्ययन नै राम्ररी भएको छ । इतिहास, कला, संस्कृति र सम्पदामा रुचि राख्नेलाई सिम्रौनगढ क्षेत्र भ्रमण गर्नैपर्ने स्थल हो । 

पर्यटन प्रवर्धन गर्न नजिकैको अन्य ख्यातिप्राप्त पर्यटकीय स्थलसँग जोड्नु महत्वपूर्ण हुन्छ । तराई मधेश द्रुत मार्ग र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले ओझेलमा परेको मधेशको पर्यटनलाई प्रोत्साहन र देशकै अन्य पर्यटकीय स्थलसँगको साथ र सहयोगले टेवा पुग्ने छ ।  


गुरुयोजना आवश्यक 


सुनिता यादव 

उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री, मधेश प्रदेश 

मधेशमा पर्यटन प्रवर्धनका लागि गुरुयोजना आवश्यक छ । गुरुयोजना बनाउन यस वर्ष मात्रै ४१ लाख रुपियाँ बजेट विनियोजन गर्‍यो। पुरातात्त्विक, ऐतिहासिक एवं प्राकृतिक स्थलको पहिचान गर्ने काम हुँदै छ । कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने सम्बन्धमा अध्ययन गरिने छ । धार्मिक पर्यटनमा सम्भावना बढी छ । 

योजना परिचालनको रूपरेखा तयार गर्दै छौँ । यसअघि पर्यटन प्रवर्र्धनका लागि विकास निर्माणमा संलग्न जिल्लास्थित कार्यालय थिए । अब ती कार्यालयलाई सङ्घीयता अनुकूल बनाउने प्रयत्न गर्दै छौँ । कार्यालयले पर्यटकीय स्थलको विकासका लागि योजना कार्यान्वयनको काम मात्रै गर्दै आएको थियो । अब कार्यालयलाई पर्यटनसँग सम्बन्धित गतिविधिमा समेत व्यस्त राख्ने गरी काम हुने छ । पर्यटन विधेयक तयारी अवस्थामा छ । प्रदेश सभाबाट पारित गरेर ऐनले निर्देश गरेबमोजिमको कार्य अगाडि बढाइने छ ।