काठमाडौँ, असार २१ गते । श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोली आज प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश लिँदै थियो । स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहनुभएका प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुुवाटारबाट ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिइरहँदा खेलाडीहरू उज्वेकिस्तानबाट जोडिएका थिए ।
जितका लागि शुभकामना दिइसकेपछि प्रधानमन्त्री ओलीले खेलाडीको ध्यानाकर्षण गराउँदै हात हल्लाएर ‘हेल्लो १ साम्बा एन्ड टिम विस यु अल द बेस्ट..’ भनेपछि उताबाट टिमका कप्तान सावित्रा भण्डारी ‘साम्बा’ उठेर नमस्कार गर्दै हात हल्लाउन थाल्नुभयो । अरू खेलाडीले ताली बजाएर जितको शुभकामना ग्रहण गर्दै शुभकमनाप्रति आभार व्यक्त गरेका थिए ।
भर्चुअल रूपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबाट सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित हुनुभयो ।
प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेकामा हर्षित प्रधानमन्त्री ओलीले आज उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गर्नुभयो । “देशको गौरव बढाउन तपाईंहरूले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु । नेपाली महिला फुटबलको ४० वर्षे सङ्घर्षपूर्ण इतिहासमा अर्को स्वर्णिम नतिजा प्राप्त हुने छ । तपाईंहरूमा जितको मनोबल देखिएको छ । तपाईंहरूले जित्नैपर्छ । हामी जित्ने छौँ । यसलाई हामीले टर्निङ पोइन्टका रूपमा लिने छौँ ।” खेलाडीलाई उत्साहित पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म तपाईंहरूको खेलसँगै हुने छु । खेल क्षेत्रको विकासका लागि सरकारका तर्फबाट गरिनुपर्ने काम हुने छ ।”
हालै सम्पन्न आफ्नो स्पेन भ्रमणका बेला रियल म्याड्रिडको रङ्गशालाको अवलोकन गरेको र मुलुकमा पनि त्यस्तै रङ्गशाला निर्माण कसरी सकिन्छ भन्ने सोचिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कम स्रोत, साधनबिच देशको खेलक्षेत्र सुदृढ हुँदै गएको बताउनुभयो । उहाँले खेल क्षेत्र खर्च हुने क्षेत्रका रूपमा नभई आम्दानी गराउने क्षेत्रका रूपमा पनि लिइनुपर्नेमा जोड दिनुभयो ।
एन्फाका अध्यक्ष नेम्वाङले जितको शुभकामनाका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सरकारले गर्ने पूर्वाधार विकासको प्रयासमा आफूहरूको साथ रहने विश्वास दिलाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा रियल म्याड्रिडको रङ्गशाला अवलोकनमा पर्नु नेपाली खेल क्षेत्रको विकासप्रति प्रधानमन्त्रीको प्रतिविम्बित भएको र त्यसबाट आफूहरूलाई प्रोत्सहन मिलेको बताउनुभयो । रासस