• २१ वैशाख २०८१, शुक्रबार

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

blog

सन्तोष सुवेदी

कास्की, असोज ५ गते । घान्द्रुक जाने पर्यटकको बसाइ लम्ब्याउन पर्यटन व्यवसायीले चक्रीय पदमार्ग निर्माण गरेका छन् । पदमार्ग ४ किलोमिटर लामो रहेको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उदघाटन गर्नुभएको हो । 

उक्त पदमार्ग मन्त्रालयको ५ लाख र समितिको १ लाख ५० हजार गरी ६ लाख ५० हजार रुपियाँको लागतमा पदमार्ग निर्माण गरिएको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । 

मन्त्रालयका सचिव कुमानसिंह गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुभयो । ‘‘घान्द्रुक कल्चर र नेचरको धनी गाउँ हो । यसमा चक्रीय पदमार्गले अझ टेवा पुग्नेछ । प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाएको छ । सोहीअनुसार मन्त्रालयले यहाँ सहयोग गरेको हो’’ उहाँले भन्नुयभो । 

पदमार्ग अझै अपुरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । यो पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ७०० घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँ हुँदै बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यवसायीलाई पनि गुहार्ने योजना रहेको उहाँले सुनाउनुभयो । ‘‘यो करिब ४ किलोमिटरको दूरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ’’ उहाँले भन्नुभयो, ‘यसका लागि सरकार गुहार्ने कुरा त छँदैछ अझै घान्द्रुकको होटल व्यवसयीलाई भन्ने र सहयोग गरे शिलालेखमा लेखेर राख्ने योजना छ ।’’

पदमार्ग निर्माणपछि एक दिन भए पनि पर्यटकको घान्द्रुक बसाइँ लम्बिने स्थानीय अमृत गुरुङले बताउनुभयो । यो पदमार्गको करिब २ किलोमिटर क्षेत्रमा वनजङ्गल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उहाँको भनाइ थियो । ‘‘यो पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइँ अवश्य लम्ब्याउँछ’’ उहाँले भन्नुभयो, ‘‘यसको आधा भागमा वनजङ्गल पर्छ । यहाँ चराचुरुङ्गीको आवाजसँगै वन्यजन्तुहरु मृग, स्याल, बनकुखुरा अवलोकन गर्न सक्छन् ।’’