• ११ मंसिर २०८१, मङ्गलबार

सामुदायिक विद्यालयका पठनपाठन प्रभावित

blog

सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ४ गते । शिक्षकहरूको आन्दोलनका कारण ताप्लेजुङका अधिकांश सामुदायिक विद्यालयका पठनपाठन प्रभावित भएको छ । सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौंमा केन्द्रित भएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।

देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले बुधबारदेखि प्रस्तावित शिक्षा विधेयक विरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । उक्त आन्दोलनमा सहभागी हुनलाई ताप्लेजुङबाट पनि प्रतिनिधिमूलक करिब ४० शिक्षक काठमाडौं गएका र यहाँ रहेका शिक्षकहरुले आन्दोलनलाई समर्थन जनाउँदै विद्यालय नखुलाएपछि पठनपाठन प्रभावित बनेको हो ।

शिक्षकहरु आन्दोलनमा उत्रिएका कारण ताप्लेजुङका करिब ३३० वटा सामुदायिक विद्यालयमा अध्ययनरत २८ हजार ५०० विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । बिहीबार बिहानैदेखि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको जानकारी प्राप्त भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । 

जिल्लाका अधिकांश सामुदायिक विद्यालयका पढाइ प्रभावित बनेको खबरहरु प्राप्त भएको एकाइ प्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार बिहानी समयमा पढाइ (कक्षा सञ्चालन) हुने कक्षा ११ र १२ तथा १० बजेपछि पढाई हुने अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित बनेको छ । निजी विद्यालयहरुको पठनपाठन भने नियमित रुपमा सञ्चालित रहेको उहाँले जानकारी दिनुभयो । 

जिल्लाका केही विद्यालयहरु बिहान १० बजे खुले पनि उपस्थिति (हाजिर) जनाएर बन्द भएका बुझिएको छ । आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्ला स्तरमा विभिन्न सङ्घ, सङ्गठनमा आबद्ध शिक्षक नेतृत्वहरु संस्थाको कार्यालयमा भेला भएका बताइएको छ । शिक्षक महासङ्घको कार्यक्रम अनुसार जिल्लामा गर्ने आन्दोलनका क्रियाकलापमा आफूहरु सहभागी भएको शिक्षक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

यता शिक्षकहरुको आन्दोलनका कारण विद्यालय बन्द भई आफ्ना बालबालिकाको पढाइ प्रभावित भएपछि अभिभावक भने चिन्तित बनेका छन् । अभिभावकले बालबालिकाहरुको भविष्यप्रति गम्भीर बन्न शिक्षक र सरकारलाई आग्रह पनि गरेका छन् । ताप्लेजुङमा स्थायी, अस्थायी र राहत दरबन्दी गरी कुल एकहजार ३१३ जना शिक्षक सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्क छ ।