सन्तोष दहित
दाङ, चैत २ गते । दाङको दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो छ।
संग्रहालयका व्यवस्थापक शान्ता चौधरीका अनुसार, चुनावको समयमा सुनसान देखिएको संग्रहालयमा पछिल्ला दिनहरूमा फेरि पर्यटकहरू दिनानुदिन अवलोकन गर्न आउन थालेका छन्। अहिले दैनिक करिब १५०–२०० आन्तरिक पर्यटक संग्रहालय अवलोकन गर्न आउने गरेका छन्। प्रतिव्यक्ति प्रवेश शुल्क एक सय पचास रुपियाँ रहेको उनले जानकारी दिनुभयो।
थारू वेशभूषा, कला, संस्कृति तथा इतिहासको संरक्षण र प्रवर्धनको उद्देश्यले स्थापना गरिएको संग्रहालयमा पूर्वदेखि पश्चिमसम्मका थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका विभिन्न सामग्री संकलन गरी राखिएका छन्। साथै, थारू वेशभूषा, कला तथा संस्कृतिलाई झल्काउने विभिन्न आकृति र तस्बिरहरू प्रदर्शनमा राखिएका छन्। संग्रहालयमा हाल थारू भाषाका विविध विषयमा लेखिएका पुस्तकहरू समेत उपलब्ध छन्।