मुगु समाचारदाता
मुगु, चैत २ गते । एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुबाट यस पटकको प्रतिनिधि सभा सदस्यमा निर्वाचित खड्कबहादुर शाही पहिलो पटक संसदीय यात्रामा हुनुहुन्छ ।
नेपाली कांग्रेसको विभिन्न पदमा रहेका बेला उहाँ सङ्घीय सांसद बन्ने अवसर पाउनुभएको छ । आफू सांसद भएपछि जिल्लाको विकासका लागि सडक, स्वास्थ तथा आधारभूत पूर्वाधार सुधारको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मुगाली जनताले देखाएको भरोसा र आशा अनुरूप काम गर्ने जिम्मेवारी अब आफ्नो काँधमा आएको उहाँले बताउनुभयो ।
जिल्लाका चार भेगको समग्र विकासका लागि यहाँका क्रियाशील राजनीतिक दल तथा सरोकारवालासँग सहकार्य गर्दै प्राथमिकता निर्धारण गर्ने उहाँको भनाइ छ । जिल्लामा विकासका कामलाई प्रभावकारी बनाउन तथा दिगो विकासको स्थापना गर्न जिल्लामा सर्वपक्षीय सहकार्य आवश्यक रहेकाले सबै राजनीतिक दल र सरोकारवालालाई एकै ठाउँमा राखेर जिल्लाको विकासका प्राथमिकता तय गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो ।
सांसद शाहीका अनुसार सडक, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ्य र शिक्षा, पर्यटन, छायानाथधाम जस्ता आधारभूत पर्यटकीय पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिने छ । केन्द्रमा मात्र नबसी समुदायसँग प्रत्यक्ष सम्पर्क राख्दै जनताको सुझाव र आवश्यकतालाई नीति तथा कार्यक्रम निर्माणमा समेटेर अगाडि बढ्ने उहाँले जनाउनुभयो ।
लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा स्वाभाविक हुने भएकाले निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारले जनताको सम्मानजनक मत प्राप्त गर्नुभएको छ । आफूलाई मत दिने सम्पूर्ण मुगाली आममतदाताप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचन प्रक्रियामा सहभागी सबै मतदाताप्रति सधैँ उच्च सम्मान व्यक्त गर्दै लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाबाट आएको परिणाम नै जनताको अभिमत भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको दिगो स्थापना यही प्रक्रियामा रहेको छ । मुगुको पर्टकीय क्षेत्र प्रचारप्रसार नहुँदा विगत वर्षदेखि नै ओझेलमा परेको छ । मुगाली आवाजलाई संसद् भवनमा उठाउने छु ।” “प्रतिनिधि सभा सदस्यमा आफ्नो पार्टीको सरकार नभए पनि मुगाली जनताले भरोसा गरेर निर्वाचित गरेकाले म जनताको कुरा प्रभावकारी रूपमा सरकारसम्म पु¥याउने प्रतिबद्धता गर्छु,” उहाँले भन्नुभयो ।
मुगुमा सडकको मुख्य समस्या रहेको बताउँदै उहाँले सडकका काम अलपत्र र अधुरो रेहकाले आफूले सडक निर्माणको कामलाई गति दिन पहल गर्ने बताउनुभयो ।
जिल्लाको विकासका लागि सडक सुधारलाई विशेष प्राथमिकता दिने उल्लेख गर्दै उहाँले नाकच्यालाग्न सडक, नाग्मदेखि मुगुसम्मको सडकलाई आधुनिक सडकका रूपमा विकास गर्ने बताउनुभयो । साथै रारा जाने सडकको स्तरोन्नतिका पनि पहल गर्ने उहाँको योजना छ । सांसद शाहीले जिल्लाका विभिन्न पालिकामा निर्माण भइरहेका अस्पताल तथा स्वास्थ्य चौकीको काम छिटो अघि बढाउन तिनै तहका सरकारसँग समन्वय र सहकार्यको वातावरणका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
साथै जिल्लामा रहेका प्राविधिक विद्यालयका शिक्षा कार्यक्रममा लगानी बढाउने, जेहेनदार बालबालिकालाई गुणस्तरीय छात्रवृत्ति उपलब्ध गराउने र युवालाई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रोत्साहित गर्ने योजना रहेको उहाँको भनाइ छ ।