• २ चैत २०८२, सोमबार

बागलुङबाट तीन महिला समानुपातिक सांसद

blog

समानुपातिक तर्फ बागलुङबाट रास्वपाबाट गंगा छन्त्याल, नेकपाबाट बलावती शर्मा र कांग्रेसबाट रेनुका काउचाको नाम सिफारिस भएको हो। तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), चैत २ गते ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का र शोम शर्माले जित हासिल गनुर्भएकाे थियाे । समानुपातिक तर्फ रास्वपा, नेकपा एमाले र नेपाली कांग्रेसले एक–एक महिला सांसद पर्ने गरी नाम सिफारिस गरेका छन्।

समानुपातिक सूची अनुसार बागलुङबाट रेनुका काउचा (कांग्रेस, महिला जनजाति कोटा), बलावती शर्मा (नेकपा, महिला खस आर्य) र गंगा छन्त्याल (रास्वपा, महिला आदिवासी जनजाति) निर्वाचित हुने पक्का भएको हो।

नेपाली कांग्रेसले समानुपातिक तर्फ १५ जना महिला र ५ जना पुरुषको सूची निर्वाचन आयोगमा पेश गरेको छ। यसमा महिला प्रतिनिधित्व सुनिश्चित गर्दै खस आर्य, आदिवासी, दलित, मधेशी, थारु र मुस्लिम कोटाबाट नाम सिफारिस गरिएको छ।

नेकपाले समानुपातिक सूचीमा खस आर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशीबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारु समूहबाट निराशा चौधरी डगौरा नाम सिफारिस गरेको छ।

रास्वपाले ५७ जनाको सूचीमा ४८ महिला र ९ पुरुष राख्दै बागलुङबाट गंगा छन्त्याललाई स्थान दिएको छ। खस आर्य क्लस्टरबाट १७ जना, आदिवासी जनजाति १६ जना, मधेसी ९ जना, दलित ८ जना, थारु ४ जना र मुस्लिम ३ जना समावेश छन्।

निर्वाचन आयोगले सूची स्वीकृत गरेसँगै समानुपातिक तर्फ निर्वाचित महिला सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन्।