सिराज खान
नेपालगन्ज, चैत २ गते । बाँकेको नेपालगन्जस्थित चर्चित पर्यटकीयस्थल वाटरपार्कमा १०० किलोभन्दा बढी प्लाष्टिक फोहोर भेटिएको छ। बास नेपालले आयोजना गरेको सरसफाई कार्यक्रमअन्तर्गत त्यहाँबाट उक्त फोहोर संकलन गरिएको हो।
हरित नेपालगन्ज कार्यक्रम अन्तर्गत वाटरपार्कमा गरिएको सरसफाई कार्यक्रममा धम्बोझी माध्यमिक विद्यालय र देउतादिन माध्यमिक विद्यालयका विद्यार्थीहरू, बास नेपालका स्वयंसेवक र कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए। बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीका अनुसार कार्यक्रमको उद्देश्य सरसफाई गर्नुका साथै घुम्न आउने स्वदेशी तथा भारतीय पर्यटकलाई सरसफाईप्रति सचेत गराउनु रहेको थियो।
सरसफाई अभियान मार्फत ८.६ केजी मोटो प्लाष्टिक र बोतलहरू, २५.३ केजी प्लाष्टिक थैली, १७.६ केजी काँचका बोतल र ५५.९५ केजी विविध फोहोर संकलन गरी कुल १०६.८५ केजी फोहोर संकलन भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिनुभयो।
उहाँले वाटरपार्क जस्तो प्रसिद्ध पर्यटकस्थलमा वस्तुविनको उचित व्यवस्थापन नभएको दुःखद भएको भन्दै सम्बन्धित वडा र नेपालगन्ज उपमहानगरपालिकाले तत्काल व्यवस्थापन पहल गर्नुपर्ने बताउनुभयो।
कार्यक्रम प्रबन्धक भण्डारीले सरसफाई गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डको जानकारी सहभागीहरू र वाटरपार्कका कर्मचारीलाई गराइएको थियो। यस कार्यक्रममा विद्यालयका विद्यार्थी, स्थानीयबासी र बासका स्वयंसेवक गरी करिब ५० जनाको सहभागिता रहेको थियो।
बासका कार्यकारी निर्देशक शाहका अनुसार केही दिनअघि पनि सोही स्थानमा सरसफाई गर्दा १०० किलोभन्दा बढी प्लाष्टिक फोहोर सङ्कलन भएको थियो। उहाँले वाटरपार्कमा प्लाष्टिक फोहोर जताततै फाल्ने र व्यवस्थापन नगर्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको बताउनुभयो।