• २ चैत २०८२, सोमबार

नाम मात्रको नमुना बस्ती

blog

कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण भएका रास्कोट नगरपालिका–७, पोखरीकोटका घर । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता 

कालीकोट, चैत २ गते ।  कालीकोटको रास्कोट नगरपालिका–७, पोखरीकोटमा निलो जस्तापाताले छाएका एकतले घर ठडिएका छन् । एकै खालका झ्यालढोका, एउटै रङ र एउटै आकारका ७३ घर पोखरीकोटमा देखिन्छन् । टाढाबाट हेर्दा चिटिक्क देखिन्छन् । जसोतसो बास बस्न बनाइएका टहराको नाम नमुना राखेको भन्दै आलोचना हुने गरेको छ । 

पहिरोका कारण आफू बसिरहेको ठाउँ बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारको पहलमा स्थानीयका लागि पोखरीकोटमा एकीकृत बस्ती निर्माण गरी यसको नाम नमुना बस्ती राखिएको छ । जहाँ घर निर्माणमा कर्णाली प्रदेश सरकारले चार लाख अनुदान दिएको थियो भने बाँकी चार लाख वा अपुग रकम जो घर उपयोग गर्छ उसैले खर्च गर्ने मापदण्ड बनाइएको थियो । बसोबास गर्नेले आफैँ लगानी गरेर टहरा त तयार भए । तर नाम जस्तै नमुना भने हुन नसकेको विभिन्न क्षेत्रका नागरिकको भनाइ छ । पोखरीकोटमा ७३ परिवारका लागि घर निर्माण भएका थिए । तीमध्ये थोरै मात्र परिवार अहिले बसेका छन् । बाँकी घरमा ताला लागेको छ र आँगन झारपातले ढाकेको छ । 

२०७२ सालमा भूकम्पपछि नेपालमा नमुना बस्ती निर्माण सुरु भएको थियो । भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर निर्माणका लागि एउटा मापदण्ड बनाइदियो । त्यसपछि निर्माण भएका घर सोही मापदण्ड अनुरूप निर्माण भएका छन् । गोरखाको बारपाक क्षेत्रमा निर्माण भएका टहराको कल्पना गर्दै अन्य क्षेत्रमा पनि उस्तै रङका घर बनाउन सुरु भयो । प्राधिकरणले घर निर्माणका लागि मापदण्ड त बनायो तर त्यो ठाउँको चालचलन र आवश्यकताको कुनै अध्ययन गरेन । 

घर निर्माण गरिरहँदा नेपालीको परम्परा र संस्कारलाई पनि ध्यान नदिएका कारणले अहिले ती बस्ती प्रयोगविहीन अवस्थामा छन् । निर्वाहमुखी अर्थतन्त्रमा रमाइरहेका नेपालीको जीवनशैली अलि फरक छ । गाउँठाउँका मान्छेलाई घर मात्रै भएर पुग्दैन । दुई/चार वटा बाख्रा, एउटा गाई वा भैँसी, थोरै कुखुरा पाल्ने गोठ पनि घरछेउमै चाहिन्छ । आफ्नै बारीमा उत्पादन भएको अन्न, घरमा पालेका बस्तुभाउका लागि आवश्यक पर्ने घाँस, पराल राख्ने ठाउँ पनि घरछेउमा चाहिन्छ । गाउँमा खेती किसानी गर्दै आएकाका लागि यी न्यूनतम आवश्यकता हुन् तर नमुना बस्तीमा यी चिज निषेध जस्तै छ । 

रास्कोट नगरपालिका–७ का निवर्तमान वडाध्यक्ष अदसिंह महतराले त्यतिबेला आफूले कार्यपालिकामा कुरा राख्दा यो सरकारी मापदण्ड भनिएकाले गाईबस्तु राख्ने ठाउँ नहुँदा सरकारको अनुदानमा बनेका घर आपत्विपत्मा बस्नेबाहेक सधैँका लागि उपयोगी बन्न नसकेको बताउनुभयो । उहाँले नाम नमुना बस्ती भएको भन्दै जस्ताले छाना छोपेका कारण निर्माण भएका बहुसङ्ख्यक घरमा ताला लागेको जानकारी दिनुभयो । 

इन्जिनियर माधवप्रसाद न्यौपानेले जति परिवारका लागि घर बनेका छन् त्यति नै परिवारका लागि घरभन्दा केही पर भए पनि गाईबस्तुका लागि गोठ बनाउने ठाउँ भने बनाउनुपर्ने बताउनुभयो । निलो जस्ताले छाना छोप्नेबित्तिकै नमुना भन्न नसकिने उहाँको भनाइ छ । बस्तीछेउमा विद्यालय र स्वास्थ्य चौकी, बस्तीभित्र खानेपानी, बिजुली बत्ती, बालबालिकाका लागि खेल मैदान जस्ता न्यूनतम आवश्यकता भए मात्र नमुना भन्न सकिने न्यौपानेले बताउनुभयो ।