खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), चैत २ गते । बैतडीको पुर्चौडी नगरपालिका–३, सल्लेवनमा रहेको भूमिराज आधारभूत विद्यालयको शिशु र कक्षा १ मा अध्ययन गर्ने बालबालिका छत भत्किएको भवनभित्र जोखिम मोलेर शिक्षा लिइरहेका छन् ।
विद्यालयको कार्यालय र सँगै रहेको शिशु कक्षा र कक्षा १ को पठनपाठन हुने भवनको छत पुरानो भएकोले गत कात्तिकमा भत्किएको थियो । विद्यालयका शिक्षक सन्तोषकुमार बर्माका अनुसार दुईकोठे उक्त भवनको धुरी भाँचिएर छत भासिएको छ ।
विद्यालयसँग अर्को पक्की भवन भए पनि ५ कक्षासम्म सञ्चालन गर्नुपर्ने हुँदा शिशु कक्षा र कक्षा १ का बालबालिकालाई छत भत्किएको भवनमै राखेर जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको उहाँले दुःखेसो पोख्नुभयो । २०६६ सालमा स्थापना गरिएको विद्यालयको भवन २०७० सालमा स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर निर्माण गरिएको तथा भवनमा प्रयोग गरिएका काठ मक्किएर छत भत्किएको हुन सक्ने स्थानीय लोकेन्द्रबहादुर धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भवन बनेदेखि कुनै निकायबाट मर्मतसम्भार गरिएको छैन । भविष्यका कर्णाधार भनिने बालबालिका सानै उमेरदेखि जोखिम मोलेर शिक्षा लिन बाध्य छन्, स्थानीय सरकारले भवन मर्मत गरेर बालबालिकाको शान्त र भयरहित वातावरणमा शिक्षा लिन पाउने अधिकारको सुनिश्चित गर्नु पर्छ ।” विद्यालयको पक्की भवनको सिडीघरमा प्रयोग गरिएको जस्तापाताको छतसमेत गत असोज महिनामा हावाहुरीले उडाएको छ । त्यो छतको पनि हालसम्म मर्मत हुन सकेको छैन । भूमिराज आविको शिशु र कक्षा १ मा ३० जना बालबालिका अध्ययनरत रहेको शिक्षक बर्माले जानकारी दिनुभयो ।
यसैबिच भवनको छत भत्किएको तथा मर्मतबारे वडा नं. ३ का वडाध्यक्ष खगेन्द्रबहादुर बोहोरालाई जानकारी गराएको उहाँले बताउनुभयो । वडाध्यक्ष बोहोराले आगामी वर्षको बजेटमा पालिकाले समेट्न सक्ने कुराको जानकारी दिएको उहाँले उल्लेख गर्नुभयो ।
विद्यालयको विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको एक वर्ष बितिसक्दासमेत नयाँ समिति चयन हुन सकेको छैन । व्यवस्थापन समिति नहुँदा समितिले गर्नुपर्ने काम सबै अधुरो रहेको विद्यालय स्रोतले जनाएको छ ।