• २ चैत २०८२, सोमबार

कालीगण्डकीको कालाखोला र मालढुङ्गा क्षेत्रमा अवैध दोहन

blog

कालीगण्डकी नदीको कालाखोला क्षेत्रमा नदीजन्य पदार्थ उत्खननको अनुगमन गर्दै सरोकारवालाहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, चैत २ गते ।
कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोला आसापास र मालढुङ्गा क्षेत्रमा भएको दोहनको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा कालाखोला क्षेत्रमा सबैभन्दा बढी नदी दोहन भएको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो । ‘‘नदीमै आएर हेर्दा त डरलाग्दा खाडल बनाएर नदी दोहन गरिएको भेट्यौं,’’ थापाले भन्नुभयो, ‘‘अनुसन्धानपछि मापदण्ड विपरित कालीगण्डकी दोहन गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौं ।’’

कालाखोला क्षेत्रमा झण्डै तीन सय मिटर लामो, एक सय मिटर चौडा र सात मिटरसम्मको गहिराइमा एस्काभेटर लगाएर नदी दोहन गरिएको छ । ‘‘बालुवा झिक्ने नाममा ढुङ्गा समेत निकालिएको पाइयो’’ थापाले भन्नुभयो । कालाखोला क्षेत्रको वातावरणमा समेत नकारात्मक असर पर्ने गरी जथाभावी दोहन गरिएको थापाको भनाइ छ ।

वातावरणिय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनमा बढीमा १ दशमलब २० मिटर मात्र बालुवा उत्खनन् गर्न पाउने प्रावधान छ । तर जथाभावी उत्खनन् मात्र नभइ पानीको बहाव नै हटाएर बालुवा र ढुङ्गा निकाल्ने, नदीलाई कुरुप बनाउने काम समेत भएको हो । नदी दोहन गरेपछि पानी लगाएर खाल्डा पुरेझै गरिएको थापाले बताउनुभयो ।

आइतबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको नेतृत्वमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी, सशष्त्र, प्राविधिकसहित विभिन्न निकायले संयुक्त रुपमा अनुगमन गर्नुभएको थियो ।

अनुगमनलाई प्राविधिक रुपमा अध्ययन गरेर विस्तृत विवरण बाहिर ल्याउने र दोहन गर्नेलाई कारवाही गर्ने, जथाभावी निकालिएको सामग्री घातगादी गरेर नगरपालिकाको आम्दानी बाँध्ने काम गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार, प्राविधिकको यथार्थ प्रतिवेदन तयार गरिने, आइइई प्रतिवेदनभन्दा बढी के कति दोहन भएको हो पत्ता लगाउने काम समेत गरिने छ । कालाखोला क्षेत्रमा प्रतिक निर्माण सेवा र मालढुङ्गा क्षेत्रमा विधि निर्माण सेवाले नदी दोहन गरिरहेको भेटिएको हो ।