• २७ वैशाख २०८१, बिहिबार

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण आवश्यक : प्रदेश प्रमुख परियार

blog

कर्णाली प्रदेश सरकारद्वारा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख तिलक परियार । तस्बिर: नवीन शाही

नवीन शाही
सुर्खेत, असोज ३ गते । 
कर्णाली प्रदेश प्रमुख तिलक परियारले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण आवश्यक रहेको बताउनुभएको छ । बुधबार कर्णाली प्रदेश सरकारद्वारा आयोजित संविधान सभा मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले त्यसका लागि भ्रष्टाचार उन्मूलन अभियान र आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक रहेको बताउनुभयो ।

उहाँले तीन तहका सरकारहरूबिच समन्वय र सहकार्य गरी जनभावना र आवश्यकता पूर्ति गर्ने, बेरोजगार र गरिबीबाट मुक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित समतामूलक समाजको कल्पना बमोजिम काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको महसुस भएको बताउनुभयो । ‘‘संविधान कार्यान्वयन हुँदै जाँदा केही अपुगताको अनुभूति भएको छ । निर्वाचन प्रणाली महँगो हुनु, संवैधानिक अङ्गहरूबिचको असन्तुलन, प्रतिनिधि सभाको विघटन लगायतका कारण हुन् ।’’ उहाँले भन्नुभयो, ‘‘निर्वाचन प्रणाली त्रुटिपूर्ण छ । महँगो हुँदै गएको छ । प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको अनुभूति भएको छ ।’’

मुख्यमन्त्री शर्माले संविधान धर्मग्रन्थ नभएको टिप्पणी गर्दै प्राप्त संविधान, धर्मनिरपेक्षता, समावेशिता र दर्जनौँ मौलिक हक अधिकारलाई थप सुदृढीकरणका लागि एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।

यस्तै, संविधान सभा सदस्य एवम् वर्तमान प्रतिनिधि सभा सदस्य अम्मरबहादुर थापाले संविधान र कानुन बमोजिम हामी मर्यादित हुन जरुरी रहेको औँल्याउनुभयो । कर्णालीमाथि भइरहेको उत्पीडन प्रति एकजुट हुनु प्रदेश सरकार र यहाँबाट प्रतिनिधित्व गर्ने सदस्यको दायित्व बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।