राजु लामिछाने
रुकुमपश्चिम, असोज १ गते । राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यानखण्डको मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा रहेको कलभर्ट बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसोदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
खोला वारपारको लागि राखिएको कलभर्ट र ढलानको वरिपरिको भाग बाढीले बगाउँदा बाटो अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । लगातारको वर्षापछि आएको बाढीले उक्त क्षति गरेको हो । सडक डिभिजन कार्यालय चौरजहारी र स्थानीय सरकारसँगको सहकार्यमा सडक सुचारु गर्ने प्रयास भइरहेकोले प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो। तर खोलामा पानीको सतह कम नभएकाले सोमबार दिनभर पनि सडक खुल्ने सम्भावना कमै रहेको बताइएको छ ।
अवरुद्ध सडक खुलाउन मुसीकोट नगरपालिकाले नगर प्रहरी, प्राविधिकसहित डोजर पितिबाङ खोलामा खटाएको जनाएको छ । गएराति उक्त टोली देखि फिल्डमा खटिएको छ। सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले अवरुद्ध सडकमा होमपाईप हालेर सडक सुचारु गर्ने कोसिस भइरहेको बताउनुभयो । कार्यालयबाट खटिएको प्राविधिक टोलीले दिनभरमा सडक सुचारु गर्नको लागि समन्वय गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा राप्ती राजमार्ग हुँदै दाङ, नेपालगन्ज, काठमाडौँ लगायतका जिल्ला बाहिरबाट र तथा त्रिवेणी गाउँपालिका क्षेत्रबाट जिल्ला सदरमुकाम मुसीकोट आउजाउ गर्ने सवारी साधनहरू खोला पारिपारी रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरूलाई हैरानी बेहोर्नु परेको छ ।
पितिबाङ खोलामा चार वर्षअघि मोटरेबल पुलको निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । तर हालसम्म पनि पुलको फाउण्डेशनको काम पुरा भएको छैन । २०७६ सालमा उक्त पुल निर्माणका लागि सडक डिभिजन कार्यालयसँग संरक्षण निर्माण सेवाले सम्झौता गरेको थियो । पुल नबन्दा यस खण्डमा बर्सेनि यस खालको समस्या दोहोरिने गरेको छ । पक्की पुलको अभावमा यस क्षेत्रका नागरिकले बर्सेनि सास्ती भोगिरहेका छन् ।