• १३ असोज २०८१, आइतबार

कर्णालीमा नयाँ सहर, पूर्वाधार निर्माणले लिएन गति

blog

रजनी योगी

सुर्खेत, असोज १ गते । कर्णालीका विभिन्न स्थानमा १२ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको छ । तोकिए अनुसार पूर्वाधारको कामसमेत सन्तोषजनक नभएको पाइएको छ । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलोपनले योजनाले मूर्त रूप पाउन नसकेको हो । राकमकर्णाली नयाँ सहर आयोजना निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/०६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको हो । एक लाख जनसङ्ख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाको विकास गर्न सरकाले योजना अघि सारेको थियो । २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको छ तर अहिलेसम्म लक्ष्य अनुसारको काम हुन सकेको छैन । जग्गा विवाद र बजेट अभावका कारण भने जति काम हुन नसकेको जनाइएको छ ।

दुल्लु ‘स्मार्ट सिटी’ कटौती

दैलेखको दुल्लुमा नयाँ सहर (स्मार्ट सिटी) बनाउने योजना नै सरकारको कटौतीमा परेको छ ।  सरकारले यो वर्षबाट उक्त कार्यक्रम कटौती गरेको हो । सरकारले आर्थिक वर्ष २०७४/०७५ बाट नयाँ सहर (स्मार्ट सिटी) बनाउने योजना ल्याएको थियो । उक्त वर्ष ५० लाख विनियोजन गरिएको थियो । लगातार तीन आवमा ५०/५० लाख स्मार्ट सिटी निर्माणका लागि बजेट विनियोजन गर्दै आएको सरकारले यो वर्षबाट कार्यक्रम कटौती गरेको हो । 

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ सहर आयोजना समन्वय कार्यालय सुर्खेतका अनुसार पर्याप्त बजेट नहुँदा नयाँ सहर निर्माणको कामले निरन्तरता पाउन नसकेको हो । तीन आर्थिक वर्षमा गरी दुल्लुमा सरकारले डेढ करोड बजेट विनियोजन गरेको भए पनि कुनै पनि उल्लेखनीय काम हुन सकेको छैन । आयोजना सुरु भएको करिब सात वर्ष पूरा भए पनि प्रभावकारी काम देखिएको छैन । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलो योजनाले मूर्त रूप पाउन नसकेको हो । सरकारले बजेट अभावका कारण देखाउँदै ‘स्मार्ट सिटी’ को योजना कटौती गरेको दुल्लु नगरपालिकाले जनाएको छ । नगर प्रमुख भरतप्रसाद रिजालले सरकारले नयाँ सहर निर्माणको योजना कटौती गर्दा नगरपालिकाले राखेको लक्ष्य पूरा गर्न समस्या हुने बताउनुभयो  ।  

फेरि गुरुयोजना 

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजनासहित गुरुयोजना निर्माण कार्य अघि बढाइएको छ । भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रलाई समेटेर गुरुयोजनाको काम सुरु गरेको हो ।

आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार हुने छ । यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसङ्ख्या आदिको आधारमा सहरको गुरुयोजना एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको हो । चरणबद्ध रूपमा आधुनिक सहरको निर्माण गर्ने कार्य थालनी भइसकेको आयोजना प्रमुख रामकृष्ण आचार्यले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ को मेहेलकुनामा आयोजनाको कार्यालय स्थापना गरिएको छ । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगङ्गा उपत्यकालाई नयाँ सहरका रूपमा अघि सारेको थियो । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारी रूपमा अघि बढाइएको छैन । 

हिमाली क्षेत्रमा नयाँ सहर 

हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ५ र ६ लाई नयाँ हिमाली नमुना सहर बनाउने काम अघि बढाइएको छ । निर्माण गरिने सहरले पर्यटन विकास गर्ने तथा छरिएर रहेको बस्तीलाई एकीकृत गरी सहरीकरण गर्ने उद्देश्यले कार्यक्रम अघि  बढाइएको हो । आर्थिक वर्ष २०७९/८० मा सरकारले ल्याएको योजना अन्तर्गत हिल्सामा नयाँ सहर निर्माणको काम थालिएको हो । पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाको विकास गर्न सरकारले योजना अघि सारेको थियो । हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने पर्यटकका लागि लक्षित गरी सडक तथा भवन निर्माण भइरहेका छन् ।

सरकारले आव २०७९/८० मा दुई करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये एक करोड बजेट खर्च भएको छ । हिमाली सहर आयोजनाको काम सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले गरिरहेको छ । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काले नयाँ सहर निर्माणका लागि यो वर्ष बजेट कटौती भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०७९÷८० मा दुई करोड बजेट विनियोजन भएकोमा यो वर्ष ४० लाख मात्र विनियोजन भएको छ । 

सङ्घीय सरकारले ‘नयाँ हिमाली सहर’ निर्माणका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाको जुफालमा काम थालेको छ । हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली सहर बनाउने योजनासहित काम सुरु भएको हो । आव २०७९/८० बाट जुफालमा काम थालिएको छ । सरकारले हिमाली सहर निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । जुफालमा हिमाली सहर अन्तर्गत बाटो निर्माणको काम गरिने छ । बेरोजगारी न्यूनीकरण गर्न नयाँ सहरी योजना सहयोगी साबित हुने अपेक्षासमेत गरिएको छ । आयोजना सुरु भएको वर्ष कामले गति लिन सकेन । तराई झर्ने प्रवृत्ति घटाउने र थप सम्भावनाको खोजी गर्न नयाँ सहर निर्माणको योजना सरकारले अघि सारेको हो । गत वर्ष जग्गा विवादका कारण एक करोड ७० लाख बजेट फ्रिज भयो ।