नवीनराज कुइँकेल
लमजुङ, मङ्सिर ७ गते । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।
क्याम्पसभित्रको छात्रबासमा छात्रहरु पनि बस्न पाउनुपर्ने माग राखेर आइतबार दिउसो विद्यार्थीले तालाबन्दी गरेको क्याम्पस प्रशासनका अधिकारीले जनाएका छन् । विगतमा विभिन्न संगठनहरुबिच पटक पटक झगडा हुने गरेपछि छात्रहरुलाई छात्रबासमा राख्न छाडिएको थियो ।
तीन बर्षअघि विद्यार्थी संगठनहरु, सरोकारवाला, क्याम्पस प्रशासन सबै मिलेर जिल्ला प्रशासनमा सहमति गरेर छात्रहरुलाई छात्रबासमा नराख्ने निर्णय गरिएको क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठले बताउनुभयो ।
क्याम्पस प्रमुख श्रेष्ठले भन्नुभयो, “विद्यार्थीकै सहमतिमा छात्रालाई मात्र छात्रबासमा राखेका थियौं । छात्रहरु बाहिरै बस्दै आउनुभएको थियो । अहिले फेरि छात्रबासमा बस्न पाउनुपर्छ भन्ने माग राखेर तालाबन्दी गर्नुभएको छ ।”
विएसएजी छैटौं सेमेस्टरका ५०–६० जना विद्यार्थीले क्याम्पस प्रशासनमा ताला लगाएको उहाँले बताउनुभयो । विद्यार्थीको तालाबन्दीपछि प्रशासनिक काम रोकिएको छ ।