बुवा ! जनम यो यस्तै भयो
अर्को जनम फेरि भेटौँ है
बाबु छोरी नाता हाम्रो सधैँ
बुवा हजुर म छोरी है...
माथि उल्लिखित हरफ गीतका लाइन हुन् । प्रकृतिको रित हो, मान्छे जन्मेपछि मर्नु पर्छ । यो सत्यबारे कोही अन्जान छैनौँ तैपनि बिछोड शब्दसँग डर लाग्छ । यस्तो भय र त्रास विशेषतः अभिभावकविहीन हुँदाको क्षण कसरी बयान गरौँ ? लिपिबद्ध गर्न उपयुक्त शब्द भेटिन्न । यसैको उपज यो गीत जन्मियो । यी हरफ जन्मिए । लाग्छ, सङ्गीत भनेको अक्षरको प्राण हो । म्युजिक भिडियोसहित युट्युबमा अपलोड भइसकेको स्वरले बुवाको देह फर्काउन नसके पनि इतिहास भने अलप हुँदैन ।
अजर अमर भनेका देवता हुन् । देखेको छैन, ती कस्ता हुन्छन् ? मैले मेरो बुवालाई उही स्थान मिलोस् भन्ने कामना गर्दछु । जन्म मृत्युको चक्र चलाउने दैवलाई धिकार्न मन लाग्छ तर सृष्टिको नियम नकार्न सकिँदैन । मलाई सधैँ एउटा कुरासँग डर लाग्छ, त्यो हो झुट बोल्न । सत्य आमा धर्ती हुन् भने बुवा आकाश ! यहाँ सृष्टिको संरचना नस्वीकारे कसको अस्तित्व रहला ?
जीवजन्तु न वातावरण कसैलाई सहज हुँदैन । यति वर्ष वा यो उमेरदेखि भनेर किटान गर्न नसके पनि बालापनका ती दिनमा बुवाको साथ भुलेको छैन । ताते हिँड्दा समाउथेँ, ती हातका औँला । आमा मामाघर जानुभएको बेला बुवाले मेरो कपाल बाटिदिनु हुन्थ्यो, दुई चुल्ठी बाँधेर । बाक्लो लामो कालो कपाल खुकुलो भयो, कसिएन भनेर झगडा गर्थें म । त्यो पल मेरो चित्त बुझाउन उहाँ यसरी गाउनु हुन्थ्यो, “ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो... ।” रेडियो नेपालबाट घन्किने तारादेवीको स्वरमा बुवाको सिको म पनि पछ्याउन खोज्थेँ । पछि, स्कुले साथी कस–कसले के के भनेर गिज्याए । बुवाको लय भने नातिनातिनाका पालासम्म यथावत् थियो ।
धनकुटाको ग्रामीण भेगमा गुज्रिएका ती दिनलाई सम्झँदा औधी नै रमाइलो लाग्छ । मानौँ, यस्तो मोहक वातावरण ढकमक सयपत्री, चम्पाचमेली र गोदावरी फुलेका छन् । अक्करको भिरमा गुराँसको लालित्य । कोइलीको कुहु कुहु सुनेर नै त हो माथि पाखातिर मयूर र मृगका बथान छमछमाएका हुन् । व्यावहारिक परिस्थितिका कारण कुनै समय बुवासँगै भइयो त कुनै समय टाढा । हाम्रो रहनसहनमा मैले थाहा पाएका कैयौँ यस्ता क्षण छन्, जसलाई चाहेर पनि भुल्न सक्दिनँ । खास गरेर बुवाको माया र उहाँले गर्नुभएको सत् कर्म । हुन त संसारमा कुन बुवाआमाले आफ्ना छोराछोरीलाई माया नगर्लान् ? सबैले गर्छन् । सन्तानको सुखद भविष्यको चिन्ता पनि सबै अभिभावकलाई हुन्छ नै । जीवनका गोरेटाहरू अघि बढ्दै गर्दा अचम्म लाग्छ, एउटा साधारण किसान किन समाजसेवामा जुट्नु पथ्र्यो ? उत्तर खोज्दै जाँदा थाहा पाएँ, संसारमा मानव धर्मभन्दा ठुलो सेवा अरू छैन । जिन्दगीको मोड बुवा व्यापारी हुनुभो । पेसासँगै समाजसेवाका काममा अहोरात्र खट्नुभयो । जुट्नुभयो । अर्को परिचय राष्ट्रप्रेमी लेखक ‘कवि धनकुटे’ जसलाई ‘अक्सिजन कवि’ भनेर पहिचान थपियो । बुवाले गर्नुभएका सामाजिक कार्यलाई नियाल्दा लाग्छ, यति उपलब्धि हासिल गर्न कसरी कदम चाल्नु भयो ?
म असाध्यै प्रफुल्ल र धन्य छु । बुवाआमाले यति सुन्दर संसार हेर्ने मौका दिनुभयो । संस्कार र व्यवहार जीवन यहाँसम्म आइपुग्दा लाग्छ, यस किसिमको अनुभूति आफ्ना छोराछोरीलाई गराउन सकिन्छ, सकिँदैन । यसको हिसाब समयले गर्ला नै । हामीले बुवासँग बिताएका ती रङ्गीन दिन विगत भइसके । यो सोच्दा लाग्छ, आखिर जिन्दगी भन्नु खै के नै रहेछ ? औँसीको अँध्यारो रात अथवा सम्झनारूपी एल्बम ? ती छायातस्बिर पल्टाएँ र हेर्ने क्रम झन्
भावुक ! झन् निरास ! पत्तो भएन, कतिखेरदेखि अश्रुधारा भएँ ? अन्धाधुन्ध परिवेश कापीकलम समातेर मनको बह पोख्न थालेको ‘बुवा जनम यो’ गीत तयार भयो ।
बुवाको मुहार पुस्तिका (फेसबुक) पल्टाएर हेर्दा बोल्नै लागे जस्तो फोटो देखेर “बुवा हजुरको यो तस्बिर कवि गोष्ठीको जस्तो छ । कार्यक्रमस्थल विराटनगर हो ? कुन साथीको कला ? साँच्चै, कति राम्रो ! कति उज्यालो ! हँसिलो ! अनि, रसिलो !” बुवाको ध्यान अन्तै पुगेको भए पुनः ‘बुवा !’ भनेर झकझक्याउँदा “हजुर, के भन्यौ छोरी ?” उसरी नै प्रतिप्रश्न आउला भन्ने थ्यो तर आएन ? मेरा कानमा केही गुन्जिएन ? शान्त शीतल पवन कहाँ हिँड्यो ? कता पुग्यो ? डाँको छोडेर रुनु जस्तो लाग्यो ।
बुवा शब्द जति प्यारो उति नै पवित्र अनि त्यति नै ओझपूर्ण ! जीवनका हरेक पलमा धेरै सङ्घर्ष गर्नुभयो बुवाले । परिवारको भरणपोषणदेखि समाजसेवामा अहोरात्र खटिनु म छक्क पर्छु, आखिर कसरी भ्याउनु हुन्थ्यो ? जीवनका ती असङ्ख्य उकाली–ओराली अनि भन्ज्याङ–चौतारी । हामी तीन सन्तानको लालनपालन, शिक्षादीक्षा तथा बिहे–व्रतबन्धका क्रममा आइपर्ने आर्थिक भारलाई कसरी व्यवस्थापन गर्नुभयो ? व्यवहारमा नपरेका हामीले उहाँका कुरा कति सुन्यौँ । जे होस्, बुवाको शीतल छहारी छउञ्जेल मार्गमा विचलित भएको महसुस गर्नु परेन ।
परिवारको जेठो सन्तानसँग भेट हुँदा बुवाले दोहो¥याई तेह¥याई गर्ने बात – “बिन्दु छोरी, तिमीले सानै उमेरदेखि साह्रै दुःख गरेकी छौ । याद छ, छ वर्षको उमेरदेखि खाना पकायौ । खाजा बनायौ । चुलो लिपपोत, भाडावर्तन मस्कायौ । टाढा पँधेरोबाट घैला र ग्यालेनमा पानी ओसा¥यौ । मेलापात, घाँस दाउरा, घरको सरसफाइदेखि भाइबहिनीको हेरचाह हामीले सिकाउनै परेन... ।”
गाउँको घरबाट धेरै टाढा थिएन, स्कुल तर त्योभन्दा नजिक, जालपादेवी माध्यमिक विद्यालय पाख्रीबासमा हाम्रो पढाइसँगै बिहानबेलुका बुवालाई साथ सहयोग पायक पर्ने र त्यसो हुँदा परिवार पनि एकै छानामुनि भइने लालसाले नयाँ ठाउँमा बसोबास सुरु भयो । त्यहाँको चिसो वातावरणले बुवालाई भने बिरामी बनायो । उसो त व्यापारकै काममा वसन्तपुर र हिलेको बसाइ पनि लेकाली भूभाग हुन् । ती दुवै ठाउँमा बुवा एक्लै खट्नुभयो । अर्को गम्भीर गल्ती टिबी नै नभई नौ महिना औषधी खुवाउने डाक्टरको लापरबाहीले बुवाको स्वास्थ्य थप शिथिल भयो । सिओपिडी भनेको चिसोको सिकायतबाट हुने कडा दम हो । त्यसैले कृत्रिम अक्सिजनको लाम्लोमा पु¥यायो । फेदैदेखिका यी कुरा सम्झँदा मुटु गाँठो परेर आउँछ र छाती चिरिएर फुट्ला झैँ हुन्छ ।
धनकुटा चुङमाङमा आँखा खोलेर छिन्ताङदेवी–निशानदेवीको आशीर्वाद घुर्केखोलाको पानी पिएको ज्यान । राष्ट्रसेवामा समर्पित जागिर छोडेर घरव्यवहार गर्नुपर्ने बाध्यता बुवा कृषक हुनुभा रै’छ । चप्लेटी डाँडामा वरपिपलको त्यो चौतारो, राङवालेचौर अनि अरुण नदीको प्राकृतिक सौन्दर्य सबैसँग रमाउँदै हुर्केको जीवन गाउँमा स्कुल पढ्दैदेखि समाज सेवामा लागेका हात नबिराउनु, नडराउनु भन्ने स्वभाव गल्ती गर्नेलाई पानीमुनि पुगेर पनि नछाड्ने बुवाको बानी वास्तवमा आदर्शको नमुना हो भन्दा फरक नपर्ला ।
गर्व लाग्छ, साधारण किसान कुशल व्यापारी हुनुभो । भाइभतिजालाई समेत व्यापार सिकाउनु भयो । बुवा समाजसेवी त हुनुहुन्थ्यो नै । राजनीतिक चेतना पनि विकास नभएको होइन तर त्यताको परिपाटी अस्थिरता बुझेर नै हो कि, अघि बढ्नु भएन । बरु राष्ट्रप्रति कसरी चिन्तन मनन गर्ने ? अनुशासन, मर्यादा र शिष्टाचार भनेको के हो ? भन्नेतर्फ बुवाको चिन्तन र व्यवहार थियो ।
व्यापारी कामकाज, कापीकलम प्रायः साथैमा हुन्थ्यो । यसबारे एउटा वास्तविकता जोड्छु, पाख्रीबास बजारको सिरानमा प्रहरी चौकी । बिच बजारमा हाम्रो घर । गाउँका झगडा निसाफ माग्न चौकी थाना धाउँथे । मलाई राम्ररी सम्झना छ, चौकी इन्चार्जले भन्ने गरेका कुरा, “हजुर, तपार्इं पहिला बालकृष्ण अधिकारीज्यूकहाँ गएर एउटा निवेदन लेखिमागेर आउनु होस् अनि छलफल गरौला ।’’ लाग्छ, मेरो बुवासँग खुबी नभएको भए राज्यले कसरी चिन्दथ्यो ? त्यो पहिचान जिल्ला प्रहरी, जिल्ला प्रशासनलगायत सरकारी अड्डा अदालत बालकृष्ण अधिकारीले खोज्ने होइन, उहाँलाई चाहिँ खोज्थे । धेरैले सोध्थे ।
स्वास्थ्य स्थिति निकै जटिल र कठिन अवस्थामा पुग्दा बुवाका साहित्यिक रचना पढ्न पाएँ । घतलाग्दो वास्तविकता बुवाकै प्रेरणाले मैले पनि अक्षरको खेती सुरु गरेँ । ‘राष्ट्रियता बोल्दै छ’ बुवाको पहिलो कवितासङ्ग्रह विमोचनपश्चात् उहाँ अक्सिजन कविका नामले चर्चित हुनुभयो । दोस्रो, ‘समृद्ध बनाउ नेपाल’ कवितासङ्ग्रह र तेस्रो, ‘नदी झैँ जिन्दगी’ स्वयंको आत्मवृत्तान्त । यी कृतिमार्फत अमर र पाठक वर्गका लागि प्रेरणाका स्रोत भएर सुरक्षित रहेका छन्, धनकुटे कवि ।
ढाँट्नु, छल्नु मानवीय कार्य होइन । बरु भोक तिर्खा खप्नु परोस् । मान्छे, स्वयम्का कर्मले महान् बन्छ भन्ने बुवाका आदर्श वाणीले सधैँ पे्ररित गर्छ मलाई । म आज जुन ठाउँमा रहेर सृजनात्मक काम गर्दै छु, बुवालाई सम्झेर नतमस्तक हुन्छु ।
दुःखको कुरा, मेरो हौसला मेरो बुवा सामुन्ने हुनुहुन्न तर शोकलाई शक्तिमा बदल्न पाउँदाको यो क्षण लाग्छ, संसारकै भाग्यमानी छोरी हुँ । कर्मको डोरी बाट्दै जाँदा वरिष्ठ कलाकार तथा उत्कृष्ट अभिनेता हरिवंश आचार्यज्यूसँग चलचित्र ‘झिलिमिली’ मा अभिनय गरेँ । मेरो यस कलाले बुवा कति रमाउनु हुन्थ्यो ? कति फुर्किनु हुन्थ्यो । यसकारण त भन्न मन लाग्छ, खेद छ दैव तँसँग ।
बाँड्न नमिल्ने बेथा सात वर्ष २४ सै घण्टा अक्सिजनको दाम्लोमा बाँधिएर बाँच्नु कति कठिन भयो । परोपकारी जीवनले पाएको त्यो सास्ती तर बुवा स्वयम्ले भने कहिल्यै हिम्मत हार्नु भएन । नयाँ नयाँ सिर्जना होस्, नगुमुन्जेल साहित्य लेखनमै रमाउनुभयो । ती दिनमा बुवाले भन्ने गर्नु हुन्थ्यो, “छोरी, संसारकै असल मानिस बन्नु पर्छ । खुसी छु, तिमीले पनि लेख्न थाल्यौ । अब यसरी नै अघि बढ्दै जानू । लेख, धेरै लेख । तिम्रो सुवास यस्तो मगमग होस्, जन्मदातालाई समेत अमर बनाऊ । शुभ कार्य गर्न कुनै आइतबार कुर्नु पर्दैन ।”
साँच्चै, बुवाको आशीर्वाद रहेसम्म सत्कर्मकै बाटोमा हिँड्ने प्रयास गर्ने छु । मैले पाएको त्यो संस्कार समयले नठगुन्जेल इन्च पछि हट्ने छैन । २०७३ साल जेठ ४ गते बिहानको सूर्योदय नै नफापेपछि सोध्न मन लाग्यो, खै कहाँ छन् भगवान् ? बुवाको भौतिक शरीर नरहेको त्यो दिनपछि पनि लाग्छ, बुवा साथै हुनुहुन्छ । यहीँ कतै वरिपरि मेरो साधनामा शक्ति बनेर लेख्न उक्साहटले मैले यो अनुभूति तयार गर्न सकेँ । बबुरोको पुकार अर्को जन्म हुन्छ भने पुनः बुवाकै छोरी भएर जन्मिन पाऊँ ।