• २१ पुस २०८१, आइतबार

बिमा कम्पनीसँग मिलेर अघि बढ्ने कानुन मन्त्री जिसीको प्रतिबद्धता

blog

बीमा सेवा प्रदायकको भूमिका विषयक कार्यक्रममा बोल्दै कानुन मन्त्री कृष्णबहादुर जिसी ।

रजनी योगी 

सुर्खेत, भदौ २७ गते । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सेवा भावका रूपमा बिमा कम्पनीहरूले काम गर्नुपर्ने बताउनुभएको छ । कर्णालीको भूगोल, आर्थिक अवस्था र समयअनुकुलमा रहेर बिमाका सेवा विस्तार गर्न बिमा कम्पनीहरूलाई आग्रह गर्नुभयो । 

बिमाले जोखिम हस्तान्तरण गरी आर्थिक संरक्षण गर्ने भएकाले विपन्न वर्ग सहित हरेक क्षेत्रमा बिमाको पहुँच पुग्ने गरी बिमा क्षेत्रले काम गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री जिसीले कतिपय बिमा कम्पनीहरूले बिमितलाई बिमा दाबी भुक्तानी दिँदा दुःख दिने गरेको, नक्कली कागजातका आधारमा दाबी भुक्तानी दिने गरेको जस्ता गुनासाहरू आउने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिई बिमाप्रतिको विश्वास बढ्ने गरी प्राधिकरणले नियमनमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कर्णालीका सबै नागरिक बिमामा जोडिन सकेका छैनन् । बिमाका सेवा सहर केन्द्रित नभई गाउँबस्ती केन्द्रित बनाउनुपर्‍यो ।”

उहाँले बिमाको पहुँच बढाउनका लागि बिमा कम्पनीहरूले पनि स्थानीय तहसँग समन्वय गरेर बिमा सम्बन्धी सचेतना फैलाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले बिमा कम्पहीनसँग मिलेर अघि बढ्ने नीतिगत योजना बनाएको उहाँको भनाइ छ । नागरिकहरूलाई स्वास्थ्य बिमाको सेवा पाउन गाह्रो हुने गरेको उल्लेख गर्दै प्रदेश सरकारलाई विपद्का समयमा आर्थिक भार कम हुने, बिमितले बिमा कम्पनीबाट नै दाबी भुक्तानी पाउने र बिमा कम्पनीहरुको पनि व्यवसाय बढ्ने गरी बिमाको पहुँच बढाउन जोड दिनुपर्ने बताउनुभयो । 

नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम सोडारीले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रमा बिमाको पहुँच पुर्‍याउने उद्देश्यले काम गरिरहेको जानकारी दिनुभयो । लक्षित समुदायलाई बिमाको दायरामा ल्याउनका आर्थिक सहायताको व्यवस्था गर्न प्रदेश सरकारसँग उहाँले आग्रह गर्नुभयो । 

सरकारी भवन लगायतका सम्पत्ति तथा परियोजनाहरूको बिमा गराउन र नागरिकलाई पनि आफ्ना सम्पत्तिको बिमा गर्न प्रोत्साहित गर्न टोल–टोलमा सचेतना कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक विपद् जोखिम हस्तान्तरणमा बिमा सेवा प्रदायकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना, नेपाल बिमा प्राधिकरण प्रादेशिक कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र साझेदार संस्था स्याक नेपालको समन्वयमा कार्यक्रम गरिएको हो ।