• १ जेठ २०८२, बिहिबार

रामेश्वर चौधरीलाई मन्त्रीको शपथ गराउन सिफारिस

blog

मन्त्री पदको शपथका लागि सिफारिस गरिएका रामेश्वर चौधरी ।

अविनाश चौधरी

धनगढी, जेठ १ गते । विवादबिच नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई मन्त्री पद्को शपथ ग्रहण गराउन सिफारिस गरेको छ । सो पार्टीको प्रदेश संसदीय दलले चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने निर्णयसहित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई सिफारिस गरेको हो । 

हिजोमात्र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई पत्र पठाउनु भएको थियो । प्रदेश संसदीय दलले त्यसलाई कार्यान्वयन नगरी अबेर राति दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । 

सात प्रदेश सभा सदस्यमध्ये चार जनाको उपस्थितिमा बहुमतको आधारमा चौधरीको नाम टुङ्गो लगाइए पनि उहाँ आफू दलको नेतासहित विषयगत समितिको सभापति भएकाले मन्त्री बन्न इन्कार गरेको बुझिएको छ । चौधरी मन्त्री बन्नबाट पछाडि हटेपछि रामेश्वर चौधरीलाई अगाडि सारिएको हो । 

कैलाली क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभामा निर्वाचित चौधरी यसअघि कमलबहादुर शाह नेतृत्वकै सरकारमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुहुन्थ्यो ।