रजनी योगी
सुर्खेत, जेठ १ गते । कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको बताउनुभएको छ । बिहीबार सुर्खेतको बीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा उच्च जोखिम रहेकाले बीमा कम्पनीले जनताको विश्वास जितेर विपद्को समयमा साथीको भूमिका खेल्नुपर्ने मुख्यमन्त्री कँडेलले चर्चा गर्नुभयो ।
बीमा कम्पनीप्रति जनताको अविश्वास रहेकाले बीमाप्रतिको विश्वास बढाउनेगरी बीमा कम्पनिहरुले काम गर्ने कुरामा जोड दिनु आजको आवश्यकता भएको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
बीमा क्षेत्रको पहुँच कर्णाली प्रदेशको सबै पालिकासम्म विस्तार गर्नेतिर ध्यान दिन मुख्यमन्त्री कँडेलले आग्रह गर्नुभयो । मुख्यमन्त्री कँडेलले कर्णालीजस्तो भौगोलिक रूपमा विकट र विपद्को जोखिममा रहेको क्षेत्रमा बीमा सेवाको पहुँच जीवनरक्षक सावित हुन सक्ने भन्दै यस क्षेत्रका जनताको जीवनस्तर उकास्न बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
‘जनताको विपद्को साथी बन्न बीमा क्षेत्रले अझ बढी उत्तरदायी बन्नुपर्छ’ उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशका हरेक पालिकामा बीमा सेवा पुर्याउने दिशामा प्राधिकरणले पहल गर्नुपर्छ ।’ केवल बीमा सुगम जिल्लामा मात्र केन्द्रित नभइ दुर्गम जिल्लामा समेत सेवा विस्तार गर्नेमा दिन ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलको जोड छ ।
कर्णालीमा स्वास्थ्य, कृषि, पशुपालन, आवास, तथा विपद् बीमाजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न नेपाल बीमा प्राधिकरणलाई मुख्यमन्त्री कँडेलले अनुरोध गर्नुभयो । कर्णाली सरकारले अन्य प्रदेशलाई सिको गर्न सक्नेगरी सामूहिक जोखिम बीमा र निजी घर बीमाजस्ता कार्यक्रम अघि बढेको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै निकट भविष्यमा बीमा सेवा कर्णालीको घर–घरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।