राजु लामिछाने
रुकुमपश्चिम, जेठ १ गते । रुकुम पश्चिमस्थित कारागार कार्यालयलाई सौर्य ऊर्जा सेट प्रदान गरिएको छ । मुसिकोट नगरपालिका–५ स्थित न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलले कार्यालयलाई सोलार सेट उपलब्ध गराएको हो ।
कारागार प्रशासक ताराबहादुर कुँवरका अनुसार १५० वाटको सौर्य ऊर्जा सेट प्राप्त भएको हो । उहाँका अनुसार सौर्य ऊर्जाले कारागारको बन्दी आवास गृहको विद्युत् आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने छ ।
न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल खड्क कुवँरले विद्यालयको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत कारागारमा सोलार सेट प्रदान गरिएको बताउनुभयो । उहाँले कारागारका कैदीबन्दीहरूको आवास गृहमा विद्युत् आपूर्तिमा समस्या आइरहेको जानकारी पश्चात उक्त समस्या समाधान गर्न सौर्य ऊर्जा सेटको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले विद्यालयले गरेको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्नुभयो । उहाँले विद्युतको अनियमित्ताले समस्या निम्त्याइरहेको बेला सौर्य ऊर्जाको व्यवस्थापन भएको र यसले कैदीबन्दीको आवास गृह उज्यालो बनाउन मद्दत गर्ने बताउनुभयो ।
यसैबिच कारागार कार्यालयले विद्यालयलाई कदरपत्र प्रदान गरेको छ । विद्यालयबाट महत्त्वपूर्ण सहयोग भएको भन्दै कार्यालयले कदरपत्रले सम्मान गरेको छ ।