• १ जेठ २०८२, बिहिबार

तनहुँको स्थानीय तहको ३१ करोड बेरुजु

blog

सबैभन्दा धेरै बेरुजु भएको बन्दीपुर गाउँपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ १ गते । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ मा झण्डै ३१ करोड रुपियाँ बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक लेखापरिक्षण प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहले ३० करोड ७९ लाख २८ हजार रुपियाँ अनुशासन विपरीत खर्च गरेको उल्लेख छ । १० स्थानीय तहको १५ अर्ब २६ करोड ३० लाख ८१ हजार रुपियाँको लेखापरीक्षण गर्दा सो बेरुजु देखिएको हो ।

सबैभन्दा धेरै बन्दीपुर गाउँपालिका पहिलो र शुक्लागण्डकी नगरपालिका दोस्रो स्थान सबैभन्दा कम बेरुजु भानु नगरपालिकाको छ । बन्दीपुरको एक अर्ब पाँच करोड १७ लाख २७ हजार रुपियाँको लेखा परीक्षण भएकोमा ४।०९ प्रतिशत अर्थात ४ करोड ३० लाख ६३ हजार रुपैयाँ बेरुजु देखिएको छ । 

शुक्लागण्डकी नगरपालिकाको २.९३ प्रतिशत बेरुजु छ । शुक्लागण्डकीको एक अर्ब ६९ करोड ३३ लाख १९ हजार रुपियाँ परीक्षण गर्दा चार करोड ९५ लाख ८७ हजार रुपियाँ बेरुजु छ । 

भानु नगरपालिकाको सबैभन्दा कम १ करोड १६ लाख ११ हजार रुपियाँ बेरुजु छ । भानुको दुई अर्ब ३३ करोड ३० लाख ८१ हजार रुपियाँ परीक्षण भएकोमा ०.५० प्रतिशत बेरुजु छ । भीमाद नगरपालिका तेस्रो नम्बरमा छ । भीमादको एक अर्ब ४५ करोड ३५ लाख १७ हजार रुपियाँ परीक्षण गरेकोमा चार करोड १० लाख ४८ हजार रुपियाँ ९२.८२ प्रतिशत० बेरुजु प्रतिवेदनमा उल्लेख छ । देवघाट गाउँपालिकाको बेरुजु २.४२ प्रतिशत छ । 

एक अर्ब १० करोड ६३ लाख ७ हजार रुपियाँ परीक्षण गरिएको हो । दुई करोड ६७ लाख ७२ हजार रुपियाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु ठहर गरेको छ । घिरिङ गाउँपालिकाको ९२ करोड ५६ लाख ७४ हजार रुपियाँ परीक्षण गर्दा २।०२ प्रतिशत अर्थात एक करोड ८९ लाख ७८ हजार रुपियाँ बेरुजु छ । आँबुखैरेनी गाउँपालिकाको बेरुजु रकम एक करोड ८४ लाख ६३ हजार रुपियाँ ठहर गरिएको छ । 

आँबुखैरेनीको ९७ करोड ३४ लाख ९४ हजार रुपियाँ परीक्षण गरेकोमा १.९० प्रतिशत बेरुजु देखिएको हो । व्यास नगरपालिकाको तीन करोड २५ लाख ५४ लाख ५२ हजार रुपैयाँ परीक्षण गर्दा पाँच करोड ९७ लाख ८९ हजार रुपियाँ बेरुजु देखिन्छ । व्यासको १.८४ प्रतिशत बेरुजु छ । ऋषिङ गाउँपालिकाको १.७५ प्रतिशत बेरुजु छ । 

ऋषिङको एक अर्ब २६ करोड आठ लाख ६५ हजार रुपियाँ परीक्षण गरिएकोमा दुई करोड २१ लाख २८ हजार रुपियाँ बेरुजु छ । म्याग्दे गाउँपालिकाको बेरुजु १.३९ प्रतिशत छ । म्याग्देको एक अर्ब २० करोड ९६ लाख ४५ हजार रुपियाँ मध्य एक करोड ६७ लाख ८९ हजार रुपियाँ बेरुजु देखिएको हो ।