• १ जेठ २०८२, बिहिबार

मन्त्रिपरिषद् बैठकका ३० निर्णय : दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति (सूचीसहित)

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १ गते । सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ । त्यस्तै, ६ जना प्रमुख सेनानीको महासेनानी पदमा र एक जना महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

गत वैशाख २५ र ३१ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले वैशाख ३० देखि जेठ १ गतेसम्म युएईको दुबईमा आयोजना हुने विश्व प्रहरी सम्मलेनमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै, महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुनसक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९, १० लाई तीन महिनाको अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार गुरुङले जानकारी दिनुभयो ।

यस्तै, जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने सुवनको एशिया प्रशान्त फोरममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई स्वीकृति प्रदान गर्ने, भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त शैक्षिक संरचना निर्माण गर्ने तथा सरकारमार्फत कार्यान्वयन हुने गरी वार्षिक बजेटमा व्यवस्था भएका मुलुकभरका सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारको निर्माण÷पुनर्निर्माण÷प्रबलीकरणका कार्य गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइको कार्यक्षेत्र विस्तार गर्ने सरकारले निर्णय गरेको छ ।

वैशाख ३० देखि जेठ १ गतेसम्म जापानमा आयोजना हुने एसिया तथा प्रशान्त क्षेत्रका स्मार्ट शहरहरू सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्वीकृति प्रदान गर्ने, वैशाख ३० देखि जेठ १२ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने बीआरआई साझेदार देशहरूका लागि जातीय नीति र अभ्यासहरू सम्बन्धी सेमिनारमा सहभागि हुन आदिवासी जनजाति आयोगका सदस्य डा. मिनबहादुर श्रीसलाई स्वीकृति दिने, दोर्दी गाउँपालिका, लमजुङलाई जनवादी गणतन्त्र चीनको यूनान प्रान्तस्थित फुगोङ काउन्टिसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) कृष्णबहादुर राउत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान प्रविधि) विश्ववावु पुडासैनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको विभिन्न मितिका वैदेशिक भ्रमणहरू स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।  यससँगै सरकारले अन्य ३० वटा निर्णय गरेको छ ।