काठमाडौँ, जेठ १ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपियाँ र डिजेल-मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ घटाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपियाँ र तेस्रो वर्गका लागि १५७ रुपियाँ कायम भएको छ । यस्तै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपियाँ र तेस्रो वर्गका लागि १४२ रुपियाँ तोकिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा एक रुपियाँ आठ पैसा र डिजेलमा दुई रुपियाँ ८० पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । रासस