बुलबुले समाचारदाता
सुर्खेत, जेठ २ गते । पश्चिम सुर्खेतको चौकुनेमा रहेको गौसंरक्षण केन्द्र (गौशाला) गिद्धको जमघटस्थल बनेको छ । चौकुने गाउँपालिका–३ मा एक वर्षदेखि संरक्षण केन्द्र सञ्चालनमा आएपछि ठुलो सङ्ख्यामा गिद्ध आउन थालेका छन् । किसानले बुढा भएका र बिरामी चौपाया छाडा छाड्ने क्रम बढ्दै गएपछि व्यवस्थापन गर्न गाउँपालिकाले गौसंरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ तर यही ठाउँमा पछिल्लो समय गिद्धको हुल भेटिने गरेको छ ।
छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने र फोहोर बढ्न थालेपछि गाउँपालिकाको सव्रिmयतामा गत वर्षबाट गौसंरक्षण केन्द्र सञ्चालन गरिएको हो । केन्द्र मरेका गाईगोरु खाल्डो खनेर फाल्न थालेपछि वरपर गिद्ध आउने व्रmम बढ्दै गएको छ । प्रकृतिको कुचीकारका रूपमा चिनिने लोपोन्मुख चरा गिद्ध अहिले गौसंरक्षण वरपर ठुलो सङ्ख्यामा जमघट हुने गरेका छन् । सिनो खाने पर्खाइमा यस क्षेत्रमा करिब १५० हाराहारी गिद्ध देखा पर्ने गरेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो । कर्णाली नदीको किनारमा संरक्षण केन्द्र छ । गौशालाको पञ्चिमतर्फ कर्णाली नदी बग्छ भने नदीपारि विभिन्न प्रजातिका रुखसहितको ठुलो जङ्गल छ । विगत छ महिनादेखि गौशालामा बाक्लो रूपमा गिद्ध देखिने गरेको गौसंरक्षण केन्द्रका अध्यक्ष खगेन्द्र बुढाले बताउनुभयो । गाउँपालिकाबाट सञ्चालित गौसंरक्षण केन्द्रमा हाल ८० गाईगोरु छन् ।
वातावरण प्रदूषण, दुर्गन्ध र रोगमुक्त बनाउन महìवपूर्ण भूमिका खेल्ने गिद्ध ठुलो सङ्ख्यामा देखिने गरेको बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गौशालामा एकै दिनमा दुई÷तीन वटासम्म बुढा गाईगोरु मर्दा एक सय बढी गिद्ध आउने गर्छन् तर सिनो खाएर विश्रामका लागि अग्ला स्थान खोज्दै जङ्गलमा पुग्ने गरेका छन् । गौशालाआसपास निखर कालो, सेतो, घाँटीमा बाक्लो रौँ भएको, घाँटी खुइले, कान लामो भएको, राजलगायत सात प्रजातिका गिद्ध देखा परेको बुढाले बताउनुभयो । संरक्षणको योजनाले सञ्चालन गरिएको केन्द्रमा गिद्ध देखिन थालेपछि स्थानीय भने खुसी भएका छन् । बुढापाकाका अनुसार केही वर्षपहिले पनि उक्त स्थानमा सोही प्रजातिका गिद्ध देखा पर्ने गरेका थिए । नेपालमा नौ प्रजातिका गिद्ध पाइने चराविद्ले बताउने गरेका छन् । यीमध्ये छ प्रजातिका गिद्धले नेपालमै गुँड बनाएर बच्चा कोरल्ने गर्छन् भने बाँकी तीन प्रजातिका गिद्ध बसाइँसराइ गरेर आउने गरेका छन् । गौसंरक्षण केन्द्रमा बसाइँसराइ गरी आएकामध्ये राज गिद्ध मङ्गोलिया र एसिया, खैरे गिद्ध युरोप र मध्यएसियामा प्रजनन गर्छन् । बटुवा गिद्ध भनिने यिनीहरू गर्मीयाम सुरु भएसँगै फर्किन्छन् ।