बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी), भदौ २६ गते । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाका १२ वटा पालिकाहरूमा रहेका स्वास्थ्य सेवा दिने निजी क्लिनिक र फार्मेसीहरूको विवरण माग गरेपनि पालिकाहरूले उपलब्ध नगराउँदा अनुमति बिनै सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र फार्मेसीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।
पालिकाहरूबाट दर्ता बिना अनियमित रूपमा सञ्चालनमा रहेको निजी स्वास्थ्य क्लिनिक, फार्मेसी र अस्पतालहरूको विवरण जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएमा त्यस्ता स्वास्थ्य संस्थाहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने स्वास्थ्य कार्यालय सुनसरीका निमित्त प्रमुख राजकुमार मेहताले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट पालिका, जिल्ला र प्रदेशले कुन कुन स्वास्थ्य संस्था सञ्चालन दर्ता, अनुमति नवीकरण गराउने भनेर सञ्चालित निजी स्वास्थ्य संस्थाहरूको विवरण माग गरेपनि पालिकाहरूले विवरण उपलब्ध नगराउँदा बिना अनुमति बिनै सञ्चालन गरेका क्लिनिक, फार्मेसीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन नसकिएको स्वास्थ्य कार्यालय सुनसरीका निमित्त प्रमुख मेहताले बताउनुभयो ।
“जिल्लाका केही पालिकाहरूले अनुगमनलाई तीव्रता दिएपनि अधिकांश पालिकाहरूले अनुगमन आफ्नो पालिकामा रहेको निजी स्वास्थ्य क्लिनिक, फार्मेसी, अस्पताल, पोलिक्लिनिक लगायत अस्पतालको अनुगमन गरेको पाइएन,” निमित्त प्रमुख राजकुमार मेहताले भन्नुभयो । निमित्त प्रमुख मेहताका अनुसार देवानगञ्ज गाउँपालिकाको मात्रै अनुगमन सकिएको छ । अन्य पालिकाहरूको भने अहिलेसम्म विवरण उपलब्ध भएको छैन । विवरण पठाउन पालिकाहरूलाई पुन पत्राचार गर्ने तयारीमा रहेको उहाँले जनाउनुभयो ।
सहायक प्रमुख मेहताले भन्नुभयो, “जिल्ला स्वास्थ्य कार्यालयमा जनशक्ति कम भएका कारण सबै पालिकामा अनुगमन गर्न सकिएको छैन । आफ्नो क्षेत्राधिकारभित्र रहेका निजी क्लिनिक, फार्मेसी र अस्पतालको अनुगमन पालिकाले गर्न सक्छ । तर, पालिकाले अनुगमनलाई कडाइ नगर्दा अनुमति बिना नै निजी क्लिनिक र फार्मेसीहरू सञ्चालनमा छन् ।”
वराहक्षेत्रका क्लिनिक र फार्मेसी अनुमति बिनै सञ्चालन
वराहक्षेत्र नगरमा रहेका अधिकांश निजी स्वास्थ्य क्लिनिक र फार्मेसीहरूले नगर स्वास्थ्य शाखामा सूचिकृत (दर्ता) नगरीकन सञ्चालन गरेको पाइएको छ । स्वास्थ्य क्लिनिक र फार्मेसी खोल्न स्थानीय सरकारबाट सूचिकृत (दर्ता) अनुमति लिनुपर्ने भएपनि अधिकांश निजी स्वास्थ्य क्लिनिक र फार्मेसीहरूले नगर क्षेत्रमा अनुमति (दर्ता) बिना नै सञ्चालन गरेको पाइएको हो ।
नगर स्वास्थ्य शाखामा सूचिकृत नगरीकनै चलाइरहेका औषधि पसललाई दर्ता गर्न नगरले सूचित गरेपनि दर्ता गर्न नआएको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगर क्षेत्रमा रहेका एक सयभन्दा बढी निजी क्लिनिक र फर्मेसीहरु दर्ता बिना नै सञ्चालनमा रहेको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिनुभयो ।
पटकपटक जानकारी गराउँदा समेत नगर क्षेत्रमा रहेका निजी क्लिनिक र फर्मेसीहरु दर्ता गर्न नआएको मेहताले जनाउनुभयो । मेहताको अनुसार हालसम्म १५ वटा स्वास्थ्य निजी क्लिनिक र फर्मेसीहरुको मात्रै सूचिकृतको लागि निवेदन दिएका छन् र कागजात पुगेकालाई मात्र सूचिकृत गर्ने प्रक्रिया अगाडि बढेको छ ।
स्वास्थ्य निरीक्षक मेहताले नगर क्षेत्रमा बोर्ड नै नराखी पनि निजी क्लिनिक र फर्मेसीहरु सञ्चालनमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “अनुगमन गर्न जाँदा कतिपय क्लिनिकमा ताला पनि लगाएर प्रक्रियामा ल्याएका छौँ ।”
मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्लिनिक र फर्मेसीहरु सम्बन्धित निकायमा दर्ता नगरी चलाउँदा नगरवासीको स्वास्थ्यसँग खेलबाड भइरहेको छ । कतिपय फार्मेसीहरूले औषधि विभागमा दर्ता गरेर यहाँ किन गर्नुप¥यो भन्ने सोचले पनि धेरै औषधि पसलले दर्ता बिना चलाएको पाएको छ । नगर स्वास्थ्य शाखाबाट पटकपटक सचेत गराउँदा पनि अटेर गर्ने पसलहरूलाई कारबाहीको दायरामा ल्याउने वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य क्लिनिक खोलेर आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर गरिने उपचारले धेरैको स्वास्थ्यमा जोखिम पु¥याउने हुँदा त्यस्ता स्वास्थ्य क्लिनिकहरूको खोजी गरेर कारबाही गर्ने स्थानीय सरकार लानुपर्छ ।
अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था
स्थानीय सरकारले ५ देखि १५ शय्याको अस्पताल र हरेक प्रकारका क्लिनिक सञ्चालनको लागी अनुमति दिने र नवीकरण गर्ने अधिकार छ । १५ देखि २५ शय्याभन्दा माथिको पोलिक्लिनिक र अस्पतालको जिल्ला स्वास्थ्य कार्यालयले अनुगमन गरेर स्वास्थ्य मन्त्रालय लाई सिफारिस गर्ने र मन्त्रालयले स्वीकृति दिन्छ । २५ देखी ५० शय्याको अस्पतालको लागि स्वास्थ्य निर्देशनालयले अनुगमन गरेर स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने व्यवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका निमित्त प्रमुख राजकुमार मेहताले बताउनु भयो । उहाँका अनुसार ५० शय्याभन्दा माथिको अस्पतालको लागि स्वास्थ्य मन्त्रालयले नै अनुगमन गरेर स्वीकृति दिने व्यवस्था छ ।
स्वास्थ्य कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख रजकुमार मेहताका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको डेन्टल, पोलि क्लिनिक, विशेषज्ञ क्लिनिकको मात्र अनुमति दिने र नवीकरण गर्ने अधिकार छ । आँखा सम्बन्धी जुनसुकै क्लिनिक भएपनि निर्देशनालये गर्ने व्यवस्था रहेको छ ।
क्लिनिक खोल्नको लागि एम बिबिएस पास गरेको हुनुपर्ने व्यवस्था छ । क्लिनिक खोल्न एमबिबिएस डाक्टरले मात्र पाउने व्यवस्था रहेपनि ग्रामीण क्षेत्रमा अहेव स्तरकाले नै क्लिनिक सञ्चालन गर्ने गरेका छन् ।