• १४ मंसिर २०८१, शुक्रबार

साठी छोराछोरीकी एक्ली आमा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, भदौ २६ गते । उनीहरूलाई न दसैँ आउँछ न तिहार, सानातिना पर्व त वर्षभरि कति आउँछन्, जान्छन्; वास्तै हुँदैन । ती पर्वले न उनीहरूलाई जगाउँछ, न त आफन्तसँग जोड्छ । पुराण, अनुष्ठान, पूजा सहरभरि भइरहन्छन् तर कसैले खबर गर्दैनन् ।

कसै कसैले गरिहाले भने पनि त्यहाँसम्म पुगेर रमाइलो गर्ने ऊर्जा उनीहरूमा छैन । धेरै जसोलाई आफ्नै जन्मदिन थाहा छैन । जन्मदिन थाहा नभएपछि साथीभाइबिच शुभकामना आदानप्रदान पनि हुँदैन । मोरङको उर्लाबारी–७ स्थित नमुना बालगृहका बालबालिकाको दैनिकी एकनासले बित्ने गर्छ, सधैँ यसै गरी । मनभरि पीडा भए पनि उनीहरूको मुहार उज्यालो छ । नमुना बालगृहमा पुग्ने जोकोहीलाई उनीहरू आदरपूर्वक स्वागत गर्छन् । आफूले नजानेका ज्ञानगुणका कुरा सिक्छन् । पाहुनाप्रति आत्मीयता प्रकट गर्छन् । कतिपय बालबालिका एकै घरका छन् । बाबुआमा को हुन् ? मावली को हुन् । आफन्त को हुन् र कहाँ छन् ? उनीहरू पूरै बेखबर छन् ।

उनीहरूको सहाराको एउटै मियो भनेको मीना आमा हुनुहुन्छ । मीना आमाले २०५७ सालमा बालबालिकाको पालनपोषण अभियान सुरु गर्नुभएको थियो । उर्लाबारीमा एक जना अर्धचेत सडक महिला गर्भवती भइन् । कलिलो उमेरमा गर्भवती भएकी ती महिलालाई पालनपोषण गरेर जन्मिएकी शिशुको नाम मीना आमाले नमुना राखिदिनुभयो । थर आफ्नै दिनुभयो बराल ।

मीना आमाका आफ्ना सन्तान छैनन् । आफ्नो सबै सम्पत्ति नमुना बालगृहलाई दिएर अबोध बालबालिकाको आमा बन्नुभएकी मीनासँग अहिले ६० जना छोराछोरी छन् । आफू आर्थिक रूपमा सम्पन्न भए पनि मीना आमालाई सम्पन्नताको भूत चढेको छैन । उहाँ भन्नुहुन्छ, “६० जना छोराछोरीलाई पढाउन, खुवाउन, सुताउनमै दिन बितिरहेको छ । नानीहरूलाई नियास्रो नहोस् भनेर हामीले सबै पर्वमा विशेष कार्यव्रmम गरेर सहभागी गराउने गरेका छौँ । तिहारमा देउसी खेल्छन् । होली, तिज, दसैँ सामूहिक रूपमा मनाउने गरेका छौँ ।” 

बालगृहभित्र न जातभात छ न त पहाडी मधेशीको विभेद । सबै एउटै परिवार भएर बसेका छन्, खाएका छन् । बालक १४ वर्षीय सुन्दर सार्कीलाई न घर थाहा छ न त आफन्तको विषयमा केही जानकारी छ । सानै छँदा बालगृहमा आइपुगेका सार्की अहिले कक्षा ८ मा पढ्नुहुन्छ । योगासनको समेत अभ्यास गरिरहेका सुन्दर ६० वटा आसन गर्न सक्ने हुनुभएको छ । योगगुरु बन्ने लक्ष्य राखेका सुन्दरलाई आफ्नो घरपरिवारबारे केही थाहा छैन ।

करुणा चौधरी र जय चौधरी दिदीभाइ हुन् । १५ वर्षीय करुणा कक्षा ७ र १२ वर्षीय भाइ जय कक्षा ५ मा पढ्छन् । आफन्त कहाँ छन्, मावली को हुन् केही थाहा छैन्, करुण र जयलाई । उनीहरू भन्छन्, “हाम्रो सबै थोक मीना ममी हो ।” आस्मा परियार १६ वर्ष हुनुभयो । १८ महिनाको छँदा उहाँलाई त्यहाँ ल्याइएको थियो । “थरसम्म थाहा पाएँ, त्यसबाहेक केही थाहा छैन्,” शिक्षिका बन्ने सपना बुनिरहेकी उहाँले भन्नुभयो, “आफन्त कोही छैनन् । कोही भेट्न आउँदैनन् ।” कक्षा १० मा पढिरहेकी आस्मा स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा पढ्नुहुन्छ । 

यस्तै ११ वर्षीय अमिसा, आठ वर्षीय अस्मिता र पाँच वर्षीय अनुस्का सहोदर दिदीबहिनी हुन् । उनीहरूलाई आफ्नो घर पथरी भन्ने थाहा छ । छिमेकीले पालनपोषण गरिरहेको समाचार आएपछि पत्रकारकै पहलमा बालगृहमा ल्याइएको हो । कक्षा ७ मा पढिरहेकी अमिसाले भन्नुभयो, “बुवा विदेश जानुभएको आउनुभएन, आमा थाहा भएन । भर्खरै आएका हौँ । बहिनीलाई सम्हाल्न अलि गाह्रो हुन्छ ।”

नमुना बालगृहको अहिले साढे १८ कट्ठा जमिन छ । त्यही जग्गाका दाताको सहयोगमा बनेका तीन वटा अलग अलग भवन छन् । साना नानीहरूलाई पूर्वप्राथमिक शिक्षा बालगृहभित्र दिने गरिएको छ । बालगृहका व्यवस्थापक तेजबहादुर घिमिरेका अनुसार अहिलेसम्म चार जना छोरी र एक छोराको विवाहसमेत गृहले नै गरिदिएको छ । त्यति मात्र होइन, त्यहाँ हुर्केका नानीहरू आठ जनालाई आफ्ना अभिभावकले बुझेर लगे भने ४७ जना वयस्क भएर आफ्नै किसिमले जीविकोपार्जन गरिरहेका छन् । बालगृहमा कोशी प्रदेशका १४ जिल्लासँगै दैलेख, अछाम र कैलालीका बालबालिका रहेका छन् । बालगृहमा तीन महिला र दुई पुरुषले बालबालिकालाई सेवा प्रदान गरिरहेका छन् ।