शिवराज ढुंगाना
अछाम, भदौ २४ गते । नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतङ्क फैलिएको छ ।
रामारोशन गाउँपालिका–६ भटाकाटियामा तीन जना मानिस र दर्जनौँ घरेलु पशुलाई आक्रमण गरेको स्थानीय कमल साउदले जानकारी दिनुभयो । एक महिला र दुई पुरुषलाई आक्रमण गरेर चितुवाले शनिबार घाइते बनाएको छ ।
भटाकाटियाको परिवहन निवासी ३८ वर्षीय जगतबहादुर साउद, ३३ वर्षीय सूर्यबहादुर साउद र ३५ वर्षीया हैकला साउदलाई चितुवाले घाइते बनाएको हो । जगतबहादुरको निधार, सूर्यबहादुरको आँखा र हैकलाको कुमपातामा चोट लागेको स्थानीय कमल साउदले जानकारी दिनुभयो ।
सूर्यबहादुर र जगतबहादुर स्थानीय चिया पसलमा बसिरहेको बेलामा आक्रमण गरेको हो भने हैकलालाई गोठछाना नजिक घाँस काटिरहेको बेलामा चितुवाले आक्रमण गरेको थियो ।
भटाकाटियाका गाउँमा पसेको चितुवाले रोल्ते, नाइतोला, परिवहन, भैरीलगायत गाउँका घरपालुवा पशु मार्ने र मानिसलाई आक्रमण गर्न थालेको छ । आइतबार मात्र रोल्ते टोलका प्रसादे साउदका दुई बाख्रा, नाइतोला जहरे साउदका दुई गाई र एक बाख्रा, रोल्ते टोलका भेरी खनालको एक बाख्रा मारेको स्थानीय वीरेन्द्र साउदले जानकारी दिनुभयो ।
यसअघि पदमादेवी साउदका दुई गाई, भरत साउदको एक पाडोसमेत मारेको स्थानीयको भनाइ छ । गाउँमा पसेर चितुवाले स्थानीयलाई आक्रमण र पशु मार्न थालेपछि स्थानीय चिन्तित भएका छन् । चितुवा जङ्गलमा नगएर गाउँकै मकैबारीमा बस्न थालेपछि स्थानीय डरले त्रसित भएका छन् ।
तीन जना व्यक्तिलाई घाइते बनाएको खबर आएपछि चितुवाको व्यवस्थापनका लागि आफूले प्रहरी परिचालन गरेको अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो । भटाकाटिया र सुतार क्षेत्रका ५० भन्दा बढी गाई, गोरु, बाख्रालाई चितुवाले मारिसकेको स्थानीयको भनाइ छ ।