• ६ जेठ २०८१, आइतबार

'मानसिक समस्याबारे खुलेर संवाद गरेमा आत्महत्या रोक्न सकिन्छ’

blog

काठमाडौं, भदौ २४ गते। पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजक कार्यक्रममा मनोरोग चिकित्सक डा. वासुदेव कार्कीले पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो।

उहाँका अनुसार नेपालमा हरेक दिन करिब २० जनाले आत्महत्या गर्ने गर्दछन्। डा. कार्कीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभरबाट छ हजार ९९३ जनाले आत्महत्या गरेका छन्। 

यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष भन्दा २.३९ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा छ हजार ८३० जनाले आत्महत्या गरेका थिए। 

आत्महत्या गर्ने मध्ये ५६ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला रहेका छन्।  त्यसैगरी बालबालिकाले पनि आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ। 

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशत बालिका र ४ प्रतिशत बालकले आत्महत्या गरेका छन्।  तथ्याङ्क अनुसार कोशी, बाग्मती, लुम्बिनी प्रदेशमा आत्महत्या गर्नेको सङ्ख्या बढी रहेको छ। 

कोशी प्रदेशमा एक हजार ५५०, बागमती प्रदेशमा एक हजार ४९५, मधेस प्रदेशमा एक हजार १२१, लुम्बिनी प्रदेशमा एक हजार २७५, सुदूरपश्चिम प्रदेशमा ५५६, कर्णाली प्रदेशमा २७४, गण्डकी प्रदेशमा ७२२ जनाले आत्महत्या गरेका छन्। 

प्रत्येक आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर परेको हुन्छ। प्रत्येक आत्महत्याको पछाडि  २० वा २५ वटा असफल प्रयास गर्ने अध्ययनले देखाएको छ। 

आत्महत्या गर्ने व्यक्तिमध्ये ९५ प्रतिशतलाई कुनै न कुनै मानसिक रोग भन्ने तथ्याङ्कले पुष्टि भएको छ। बाँकी ५ प्रतिशतले भने एक्कासि तनावपूर्ण अवस्थामा आएर  पनि आत्महत्याको प्रयास हुने गर्दछन्। 

मानसिक समस्याबारे खुलेर संवाद गरेमा, परामर्शमा रहन सकेमा आत्महत्या रोक्न सकिने डा. कार्कीले जिकिर गर्नुभयो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्यका प्रमुख डा. फणीन्द्र बरालले आत्महत्या रोकथामलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको बताउनुभयो। 

डा. कार्कीका अनुसार शारीरिक स्वास्थ्यमा जस्तै मानसिक स्वास्थ्यमा पनि समस्या आउनसक्छ। मानसिक स्वास्थ्यका विषयमा सबैले खुलेर कुरा गर्नुपर्ने उहाँको भनाइ छ। 

बालबालिकाले सुरक्षित महसुस गर्ने र आफ्नो समस्यासँग व्यक्त गर्नसक्ने वातावरण बनाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयको विकास गर्न आवश्यक रहेको डा. कार्कीले उल्लेख गर्नुभयो। 

यसैगरी घरपरिवार तथा कार्यलयस्थलमा एकअर्को बिच आफ्ना कुरा निर्धक्कका साथ व्यक्त गर्ने र समस्या समाधान गर्ने वातावरण गर्ने वातावरण हुनु जरुरी रहेको उहाँको भनाइ छ। 

आत्महत्याको विचार मनमा आउनु मानसिक स्वास्थ्य समस्याको प्रमुख लक्षण भएकाले यस्तो विचार आएमा नजिकको स्वास्थ्य संस्था वा मनोपरामर्शका लागि २४ घण्टा उपलब्ध राष्ट्रिय हेल्पलाइन ११६६ मा निःशुल्क फोन गरी विज्ञबाट सेवा लिन चिकित्सकको सुझाव छ। 

“आशा जगाऔँ, जीवन बचाऔँ” भन्ने नाराका साथ आइतबार देशभर विभिन्न कार्यक्रम गरेर विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।